कपिल शर्मा राजपाल यादव र रेमो डिसुजालाई आएको धम्कीपूर्ण इमेलमा के छ?
एजेन्सी : भारतीय कमेडियन कपिल शर्मा, अभिनेता राजपाल यादव र कोरियोग्राफर रेमो डिसुजालाई ज्यान मार्ने धम्कीपूर्ण इमेल आएको छ।
भारतीय सञ्चारमाध्यम हिन्दुस्तान टाइम्सका अनुसार उनीहरूलाई पाकिस्तानबाट एक इमेलमार्फत ज्यान मार्ने धम्की आएको हो। यसमा कमेडियन सुगन्धा मिश्राको पनि नाम रहेको बताइएको छ।
उनीहरूलाई प्राप्त धम्कीपूर्ण इमेलहरूको मुद्दामा प्रहरीले एफआईआर दर्ता गरेर अनुसन्धान गरिरहेको छ। इमेलमा आठ घण्टाभित्र कुनै जवाफ नआएमा कारबाही गरिने धम्की दिइएको छ। धम्कीपूर्ण इमेल पाकिस्तानबाट पठाइएको प्रारम्भिक अनुसन्धानका क्रममा खुलासा भएको भन्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
तर कपिल, राजपाल र रेमोले यस इमेलप्रति कुनै प्रतिक्रिया जनाएका छैनन्।
यस विषयमा मुम्बईको अम्बोली प्रहरीमा उजुरी दर्ता गरिएको छ। प्रहरीले धारा ३५१ (३) अन्तर्गत मुद्दा दायर गरेको छ।
के छ इमेलमा?
'हामीलाई तपाईंहरूको क्रियाकलाप हेरिरहेका छौं। यो कुनै पब्लिक स्टन्टः या तपाईंहरूलाई चिन्तित गर्ने प्रयास होइन। हामी तपाईंहरूलाई गम्भीरताका साथ यस कुरालाई ध्यानमा राख्नुस् भन्ने चाहन्छौं। यदि यस्तो भएन भने तपाईंहरूको व्यक्तिगत र पेसागत जीवनमा असर पर्न सक्छ। हामी आगामी ८ घण्टामा मेलको प्रतिक्रिया चाहन्छौं। यस्तो भएन भने तपाईंहरूले यस मेललाई गम्भीरताका साथ लिनु भएन भन्ने बुझ्छौं। हामी तपाईंहरू विरूद्ध एक्सन लिन्छौं। हामी बिश्नोई होइनौं,' इमेलमा लेखिइएको छ।
माघ १०, २०८१ बिहीबार १८:१८:२१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।