भीम रावलको अभियानमा लागेको आरोपमा अछामका ६ जना नेतालाई एमालेले गर्यो कारबाही
काठमाडौं : पार्टीबाट निकालिएका पूर्व उपाध्यक्ष डा. भीम रावललाई सघाएको भन्दै एमालेले अछाम जिल्ला कमिटीका ६ जना नेतालाई कारबाही गरेको छ।
‘मातृभूमि जागरण अभियान’को पक्षमा लागेर पार्टी हितविपरीत काम गरेको आरोपमा रावलको गृहजिल्ला अछाम कमिटीले उनीहरूलाई कारबाही गरेको हो।
जिल्ला अध्यक्ष चन्द्र बोहरा र सचिव भीमबहादुर रावलले बुधबार विज्ञप्ति निकालेर पार्टीको विधानविपरीतका गतिविधिमा संलग्न भएकाले उनीहरूलाई कारबाही गरिएको भनेका छन्।
एमाले अछाम जिल्ला कमिटी सचिवालय सदस्य एवं संगठन विभाग प्रमुख प्रकाश शाह, जिल्ला कमिटी सचिवालय सदस्य सागरसिंह बाब्ली, जिल्ला कमिटी सदस्य बलबहादुर कुँवर, शंकर भुल, रतन रावल र साँफेबगर नगर कमिटी अध्यक्ष ढकेन्द्र कुँवरलाई जिम्मेवारीबाट हटाएको विज्ञप्तिमा उल्लेख छ।
‘मातृभूमि जागरण अभियान नेपाल’ नामक जुलुसमा समावेश भई पार्टी र सम्माननीय प्रधानमन्त्री एवं पार्टी केन्द्रीय कमिटीका अध्यक्षविरुद्ध अलोकतान्त्रिक र अशोभनीय नाराबाजी गरिएको तथा पार्टीविरुद्धको जुलुसमा सक्रिय भूमिका खेलेको देखिन्छ,’ एमालेले जारी गरेको विज्ञप्तिमार्फत भनेको छ।
माघ १०, २०८१ बिहीबार १६:२२:०६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।