लतारिएको अवस्थामा महिलाको शव भेटिएपछि वनमा क्यामेरा जडान

लतारिएको अवस्थामा महिलाको शव भेटिएपछि वनमा क्यामेरा जडान

काठमाडौं : बाँकेको राप्तिसोनारी गाउँपालिका भगवती सामुदायिक वनमा जंगली जनावरको आक्रमणमा परी एक महिलाको ज्यान गएपछि उक्त वन क्षेत्रमा क्यामेरा जडान गरिएको छ।

बुधबार राप्तीसोनारी गाउँपालिका-८ की ६७ वर्षीया चेती बुढाको ज्यान गएपछि सब डिभिजन वन कार्यालय बाँकेको पहलमा क्यामेरा जडान गरिएको हो। 

सब डिभिजन वन कार्यालय बाँकेका प्रमुख मनोज शर्माका अनुसार सामुदायिक बन क्षेत्रमा बाघ र चितुवाजस्ता हिंस्रक जनावरको आगमन बढेको र मानवीय आक्रमण हुन थालेपछि त्यसको तथ्य पत्ता लगाउन क्यामेरा जडान सुरू गरिएको हो। 

स्थानीयले सामुदायिक बन क्षेत्रमा बाघ आक्रमण बढेको गुनासो गरेपछि क्यामेरा जडान गरिएको र बाघसँग सचेत हुनुपर्ने बताए। 

उनले भने, ‘बाघ नियन्त्रण गर्ने भन्ने कुरा हुँदैन। यसका लागि आफैं सजग बन्ने हो। हामीले जनचेतनाका कार्यक्रमहरू अघि सारेका छौं।’

बुधबार सोही वडामा रहेको उक्त सामुदायिक वनमा दाउरा काट्न गएकी चेतीलाई बाघ वा चितुवा मध्य कुनै एक वन्यजन्तुले आक्रमण गरी मारेको आशंका गरिएको थियो। 

भगवती सामुदायिक वनका अध्यक्ष टिकाराम वलीले उनलाई हिंस्रक जंगली जनावरकै आक्रमण भएको अनुमान गरे। वलीका अनुसार जंगलमा बाघ नदेखिएको तर बँदेल, चित्तल, जरायोहरू भने देखिने गरेको थियो।

यसअघि पनि गाउँलेका १० वटा जति बाख्रा मारेको र मानवीय क्षति नभएको उनले बताए। उनले वन क्षेत्रमा हाल क्यामेरा जडान गरिएको जानकारी दिए। 

महेन्द्र राजमार्गदेखि एक किलोमिटर पुर्वी भागमा लतारिएको अवस्थामा मृतक चेतीको शव भेटिएको थियो। उक्त वननजिकै बाँके राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्र पर्छ।

घटना स्थलमा बाँके राष्ट्रिय निकुञ्ज, निकुञ्ज सुरक्षामा तैनाथ नेपाली सेना, सब डिभिजन वन कार्यालय बाँके, इलाका प्रहरी कोहलपुर बाँके र स्थानीयको सामूहिक उपस्थितिमा घटनाको अध्ययन गर्ने र मुचुल्का तयार गर्ने काम गरिएको छ। 

साथै, फरेन्सिक जाँचको तयारी पनि भइरहेको छ। 

माघ १०, २०८१ बिहीबार १५:४४:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।