गौरी शंकर धुंजुको हिजोको कुरा : कलाकार जस्तै चर्चामा आउन मन लाग्छ, तर संसारभरका क्यामेरामेन पर्दा पछाडि नै हुने रहेछन्

गौरी शंकर धुंजुको हिजोको कुरा : कलाकार जस्तै चर्चामा आउन मन लाग्छ, तर संसारभरका क्यामेरामेन पर्दा पछाडि नै हुने रहेछन्

छायांकार एवं कलाकार हुन् गौरीशंकर धुंजु। ४५ वर्षदेखि फिल्म तथा टेलिफिल्ममा क्यामेरामेनको रुपमा काम गरेको अनुभव छ उनीसँग। घर परिवार व्यापारमा संलग्न भएता पनि उनको मोह क्यामेरा र छायांकनतिरै बढ्यो।

एसएलसीपछि सामान लिन हङकङ आउजाउ गर्न थालेका उनले बुवाको व्यापारकै सिलसिलामा एउटा क्यामेरा किने, त्यो पनि रंगीन फोटो खिच्ने। त्यसैबाट उनले कलाकारहरूको फोटो तथा भिडियो खिच्न थाले।

फिल्म बनाउने मोह लागेपछि विस्तारै व्यापार छाडे। २०३६ सालतिर नै नेपालको पहिलो भिडियो फिल्म ‘प्रयास’निर्माण गरे। रंगीन फोटो खिच्न थालेपछि उनी सबैको नजरमा पर्न थाले। एनालग सिस्टमका क्यामेरा चलिरहेको बेलामा उनी डिजिटल युगमा प्रवेश गरिसकेका थिए।

४४ सालतिर महसञ्चारसँग नजिक भएर काम गरेका उनले मह सञ्चारबाट निर्माण भएका अधिकांश सिरियल फिल्म खिचे। ‘हरिबहादुर मदनबहादुर’ लगायतमा सिरियलमा अभिनय समेत गरे उनले।

चार दशकभन्दा लामो समय नेपाली कला क्षेत्रमा बिताएका धुजुले आफ्ना बाल्यकालदेखि कला क्षेत्रको अनुभव उकेराको नियमित स्तम्भ ‘हिजोका कुरा’मा यसरी सुनाएः

हङकङको व्यापारी
म काभ्रेको धुलिखेलमा रहेको श्रीखण्डपुर गाउँमा २०१५ सालमा जन्मिएँ। बुवाआमा व्यापारी भएकाले विस्तारै काठमाडौं बसाइ सरियो। त्यतिबेला म बालखै थिएँ। काठमाडौंको इन्द्रचोकमा बसिन्थ्यो। मैले २०३२ सालतिर स्वयम्भूमा रहेको आनन्द पीठ विद्या मन्दिरबाट एसएलसी दिएको हुँ। अहिले त त्यो स्कूल नै बन्द भयो।

परिवारमा व्यापारिक पृष्ठभूमि भएकाले सुरुवाती दिनमा व्यापारमै भुलियो। एसएलसीपछि भने बुवाको कारण हङकङको व्यापारी भएँ। हङकङमा मान्छेहरू लगेर सामान किनाएर फर्कन्थेँ। त्यसैले सामान भित्र्याउनका लागि ४/५ जनालाई नेपालबाट लैजाने र उनीहरूमार्फत सामान ल्याउने गरिन्थ्यो।

त्यतिबेला पाँच वटासम्म पाइन्ट, दुई जोर जुत्ता, दुई वटा घडी, तीन तोला सुन, छ वटा भेस्ट र केही घरायसी सामान ल्याउँदा भन्सार एक रुपैयाँ पनि लाग्दैनथ्यो। त्यसका लागि फर्म भर्नुपर्थ्यो। यो २०३४/३५ सालतिरको कुरा हो। मैले पनि त्यसरी नै १० वर्षसम्म यो काम गरेँ।

क्यामेरा मोह
मलाई सानैदेखि क्यामेरा चलाउन इच्छा थियो। २०२५/२६ सालतिर एउटा क्यामेरा हुनु भनेको ठूलै मान्छे मानिन्थ्यो। मेरो ठूलोबुवा लालकाजी धुजुले गाउँमा फोटो खिच्ने काम गर्नुहुन्थ्यो। उहाँले अलिक अगाडि नै क्यामेरा चलाउन थाल्नुभएको थियो।

ठुलोबुवाले घरबाट क्यामेरा निकालेको देखेपछि म उहाँसँगै निस्कन्थेँ। क्यामेरा चलाउने लोभले घरी झोला बोकिदिने त घरी सफा गर्थेँ। त्यो बेलादेखि नै मलाई क्यामेराप्रति लगाव रहेछ भन्ने अहिले म अनुभव गर्छु।

व्यापारमा लागेको समयमा पनि मैले आफ्नो क्यामेरा चलाउने रहर पूरा गर्न पाएँ। व्यापारका कारण हङकङ आउजाउ गर्ने क्रममा मैले रंगीन क्यामेरा किनेर ल्याएँ। त्यो बेला नेपालमा रंगीन क्यामेरा चलाउनेहरू निक्कै कम थिए।

त्यो बेलाका मेरा साथी मञ्जिल श्रेष्ठ, किरण प्रधान र पुरन जोशी थिए। पुरन त्यो बेलाको फिल्म ‘के घर के डेरा’को हिरो थिए भने किरण प्रधान गायक। किरणको ‘के सोचे मैले, के भयो अहिले’ लगायत थुप्रै गीत हिट छन्। म पनि हल्काफुल्का फोटोग्राफर बनिसकेको थिएँ। व्यापार भन्दा फोटोमा बढी ध्यान जान थालिसकेको थियो।

३५ सालतिरको कुरा हो, प्रज्ञा भवनमा वर्षको एक पटक नाटक प्रतियोगिता हुन्थ्यो। त्यो नाटकमा रविन्द्र खड्का, उज्वल घिमिरे, कृष्ण मल्ल, बद्री अधिकारी, अशेष मल्लले नाटक मञ्चन गर्नुहुन्थ्यो। त्यो बेला नाटकको फोटो खिच्नका लागि बोलाउने भएकाले मेरो उहाँहरूसँग राम्रै सम्बन्ध भयो।

मैले खिचेको फोटोबाट ब्यानर र पोस्टर बनाएर प्रचारका लागि रत्नपार्कमा टाँगिन्थ्यो। अहिले गणेशमान सिंहको शालिक भएको ठाउँ वरपर त्यतिबेला घरै घर थिए। ती घरमा खानेकुराका पसल थिए। त्यहाँ मान्छेहरूको बढी जमघट हुने भएकाले पनि प्रचार त्यहीँ गरिन्थ्यो।

नेपालमा खिचेको फोटो मैले हङकङमा धुल्याएर ल्याउँथे। कलर फोटो खिच्ने भएकाले पनि मलाई नाटक गर्ने चर्चित कलाकारहरूले नोटिस गर्नुभएको रहेछ। म हङकङ जान नपाएको खण्डमा किरण र पुरनमध्ये एउटा गएर काम सकेर आउँथे।

त्यो पोस्टरले मलाई अरू पनि काम आउन थाल्यो। त्यो समयका लेखक तथा निर्देशक लय संग्रौला लगायतले पनि मलाई बोलाउनुहुन्थ्यो। त्यतिबेला मैले फोटो खिचेको र धुलाएको पैसा कसैसँग पनि मागिँन। ठूलो फोटोको चाहिँ समस्यै पर्ने भएर माग्थेँ, नत्र खासै मागिएन।

फिल्म सेन्सरका लागि भारत
त्यो समयमा नेपालमा डिजिटल फिल्मको सेन्सर हुँदैनथ्यो। म, किरण प्रधान, मञ्जिल श्रेष्ठको टिम थियो। यही क्रममा किरण प्रधानले एउटा भिडियो फिल्म बनाउन भन्नुभयो। मैले पनि हुन्छ भनेर भिडियो फिल्म ‘प्रयास’ बनायौँ २०३६ सालमै। त्यतिबेला नेपालमा टेलिफिल्म पनि आएको थिएन।

‘प्रयास’ बनाए पनि त्यसको नेपालमा सेन्सर हुन सकेन। त्यसका लागि भारत गयौँ। त्यतिबेला सम्म नेपालमा सेन्सरको सिस्टम नै थिएन। नेपालमा टेलिभिजन नै आइसकेको थिएन। यो फिल्मलाई हामीले भृकुटी मण्डपमा, टिभी बोकेर टोल-टोलमा देखायौँ। त्यसको करिब पाँच वर्षपछि मात्रै हो नेपाल टेलिभिजन खुलेको।

नेपाल टेलिभिजनले पहिलो पटक ‘बाचा बिर्सेको छैन’ भन्ने सिरियल निर्माण गर्यो। त्यसको छायांकन मैले नै गरेँ। रमेश बुढाथोकीको निर्देशनमा बनेको सिरियलमा बद्री अधिकारी, लक्ष्मी राणा लगायतका कलाकारहरू थिए। यो तीन भागको मात्र थियो।

त्यतिबेला मैले काम नगरेको कुनै पनि निर्देशक र कलाकार थिएनन्। २०३५ सालदेखि नै हिसाब गर्ने हो भने ४५ वर्ष क्यामेरासँगै बिताइयो।

एक पटक फिल्म र टेलिफिल्ममा नै म छायांकार
त्यो समयमा मैले एनालग र डिजिटल दुवै क्यामेरा चलाउँथे। त्यही भएर होला फिल्म र टेलिफिल्म दुवै खिच्ने मौका पाएँ। एनालग चलाउन चाहिँ अलि जान्दिनथेँ म। त्यसमा सबै कुरा मिलाउनुपर्थ्यो। रिल कसरी लोड गर्ने, लेन्सलाई कति राख्नुपर्ने लगायत सबै कुरा मिलाएर मात्र खिच्नुपर्थ्यो। मिलेन भने रिल नै खेर जान्थ्यो। त्यो बेलाको कुरा सम्झँदा अहिले इतिहास जस्तो लाग्छ।

त्यतिबेला मैले विदेशमा छायांकन भएको पहिलो फिल्म ‘कस्तुरी’ खिच्ने मौका समेत पाएँ। त्यतिबेला फिल्म सुटिङका लागि उपकरणहरू जुटाउन निकै गाह्रो थियो। फिल्ममा करिश्मा मानन्धर, सन्तोष पन्त, पार्वती अधिकारी लगायतका कलाकारले अभिनय गर्नुभएको छ। यो फिल्म हामी छिट्टै युट्युबमा पनि हाल्दैछौँ।

त्यस्तै अर्को फिल्म ‘मितेरी गाउँ’ मैले जापानमा सुटिङ गरेको थिएँ। यसमा शिव श्रेष्ठ, सुनिल थापा, पवित्रा सुब्बा, गणेश लामा लगायतका कलाकारको अभिनय थियो। फिल्मलाई देशभक्त खनालले सहायक निर्देशक गरेका थिए। नेपालको जोमसोममा पनि फिल्मका केही दृश्य खिचेका थियौँ।

मह सञ्चारको टेलिफिल्म ‘लालपुर्जा’मा मुक्तिनाथ मन्दिरमा पुगेर खिच्यौँ। यो हेरेपछि नै हो मान्छेहरूले ‘ओहो! मुक्तिनाथ त स्वर्गको टुक्राजस्तै रैछ’ भनेका। त्यसअघि मुक्तिनाथको त्यति धेरै चर्चा भएको थिएन। मह सञ्चारसँग मैले काम गरेको ३६ वर्ष भइसक्यो।

‘कलाकार जस्तै चर्चामा आउन पाए हुन्थ्यो’
मलाई कहिलेकहीँ कलाकार जस्तै चर्चामा आउन पाए पनि हुन्थ्यो जस्तो लाग्छ। तर, संसारभरका क्यामेरामेनहरू पर्दा पछाडि नै हुने रहेछन्। संसारको नियम नै यही रहेछ भन्ने कुराले चित्त बुझाउँछु। अहिले इण्डियाको क्यामेरामेनको नाम लिनुपर्यो भने फ्याट्टै आउँदैन। उनीहरूको फिल्म हेरेको हामीले कति वर्ष भयो।

हलिउडको क्यामेरामेनको कुरा गर्ने हो भने कसैको पनि थाहा छैन। मैले भन्न खोजेको कुरा के हो भने संसारको नियम नै यही रहेछ। कतिपयलाई नाम थाहा हुन्छ तर अनुहारले चिन्दैनन्। गौरी शंकर धुजु भनेको तपाईं पो हो भन्छन्। 

एक पटक के भयो भने सरोज खनालको ‘मौन आकाश’मैले छायांकन गरिरहेको बेलामा एउटा स्कुलमा भेटघाट गर्ने कुरा भयो। सरोज खनाल त्यो बेला नाटकहरूमा खुब चलेको एडभान्स भइसकेको थियो। अनि त्यो स्कुलमा कलाकारहरूलाई सम्मान गर्ने भनेर बोलाइएको थियो। मलाई पनि बोलाएको हुनाले गएँ। त्यो समयमा अटो लिने चलन थियो। कलाकारहरूसँग सबैले अटो भराए।

सम्मान दिने बेलामा ‘क्यामेरामेन गौरी शंकर धुजु’ भनेर बोलाइयो। त्यहाँ ‘गौरी शंकर धुजु भनेको को हो?’ भनेर कसैले पनि चिनेनन्। अनि ‘थुक्क! यत्रो दिनरात नभनी मेहनत गरेर खिच्दा पनि चिन्दैनन् बा’ भन्ने लाग्यो। त्यसपछि भने मलाई पनि खेलाउनुपर्यो भनेर प्रस्ताव राख्न थालेँ।

तत्कालै कुराको सुनवाइ भएन। तर, जब मैले हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठको मह सञ्चार टिममा काम गर्न थालेँ, त्यसपछि भने उहाँहरूले खेल्नुपर्छ भने अनि मात्र सानो भूमिकामा देखिन थालेको हो। त्यसपछि भने मान्छेले अलि-अलि चिन्न थाल्नुभो।

मह सञ्चारको टेलिफिल्ममा प्राय म हुन्छु नै! टेलिफिल्ममा पर्दा पछाडिका पात्रलाई पनि चिनुन् भनेर नै कास्टिङमा हाम्रो फोटो राखियो। जुन पहिलोपटक हामीले नै गरेको हो। नचिन्ने भए व्यापार व्यवसाय गरे भइहाल्थ्यो नि, हैन र?

नयाँले चिन्दैनन्
हाम्रा पालाका कलाकारले सम्मान गर्दा मलाई खुसी लाग्छ। अरु कसैले पनि सम्मान नदर्शाए पनि हाम्रा आफ्नाले त सम्झिए नि! त्यसरी चित्त बुझाउनु पर्छ। अहिले डिजिटल युगमा मान्छेहरू अल्छी भएको जस्तो लाग्छ। पहिलाको जस्तो मेहनत गरेको देखिँदैन। प्रविधि सहज हुँदै आएसँगै मानिसहरू कमजोर बन्दै गए।

मैले कलेजमा क्यामेरा पढाउँदा पनि भनिरहेको हुन्छु, ‘हिजोको दिनमा मैले राम्रो काम गरिँन भने भोलिका दिनमा म मार्केटमा बिक्दिनँ, जीवनयापन गर्नै गाह्रो पर्छ।’

हामीले त क्यामेरा चलाउँदा क्यामेराको भ्यु प्वोइन्टबाट सबै मिलेपछि मात्रै क्लिक पार्थ्यौँ। अहिले त मनिटरमा हेरेका छन्। जसले खिचे पनि भयो। हाम्रो पालामा त आँखाले भ्यु प्वाइन्टमा नहेरुन्जेलसम्म रेकर्ड नै हुँदैनथ्यो। समय बदलियो।

माघ १०, २०८१ बिहीबार १५:२४:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।