चन्द्र र सशांकसँगको भेटबारे प्रचण्डको प्रष्टोक्ति- ‘...त्यो संयोग मात्रै हो’

चन्द्र र सशांकसँगको भेटबारे प्रचण्डको प्रष्टोक्ति- ‘...त्यो संयोग मात्रै हो’

सुर्खेत : माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरू सरकार ढाल्ने प्रक्रियामा नरहेको बताएका छन्।

बिहीबार बिहान नेपालगञ्ज जानका लागि सुर्खेत विमानस्थलमा पुगेका उनले पत्रकारसँगको कुराकानीमा आफूहरू जनतामा भएकाले सत्ताको दौडमा नरहेको बताए।

अध्यक्ष प्रचण्डले केही दिनअघि चितवन विमानस्थलमा कांग्रेस नेता सशांक कोइराला र चन्द्र भण्डारीसँग भएको संवादको स्मरण गर्दै संयोगवस कुराकानी भएको र सत्ता साझेदारीका विषयमा कुनै कुरा नभएको बताए।

‘कांग्रेसका सशांक र चन्द्र जीसँग चितवन विमानस्थलमा अचानाक भेट भएको हो। सरकार जति जानपर्ने हो जाओस्, हामी जनतासँगै छौँ भनेको थिएँ,’ प्रचण्डले भने, ‘पत्रकार साथीहरूले सरकार तलमाथि भइहाले के हुन्छ भन्दा नेपाली कांग्रेस पार्टनर हुँदै हुनुहुन्छ नि भन्दा सशांकजीले पनि राजनीति हो भन्दिनुभएको थियो। यो संयोग मात्रै हो।’

फरक प्रसङ्गमा उनले प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेशबाट शासन गर्न खोजेको आरोप लगाए।

‘समितिमा गइसकेको विधेयकलाई अध्यादेशबाट शासन गर्नु गलत हो। हामीले विशेष अधिवेशन बोलाउने भनेपछि मात्र सरकार संसद बोलाउन तयार भएको हो,’अध्यक्ष प्रचण्डले भने, ‘संविधान र जनताको भावना विपरीत गठन भएकोले वर्तमान सरकार अवैध छ। त्यस कारण धेरै टाढा जाँदैन भन्नेमा हामी प्रष्ट छौँ।’

सरकार भ्रष्टाचारी र आफ्नालाई बचाउने र बिचौलियालाई पोस्ने काममा लिप्त रहेको भन्दै ओलीको क्रियाकलापले एमालेभित्रै पनि उकुसमुकुस रहेको बताए।

माघ १०, २०८१ बिहीबार ११:५४:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।