पेट्रोलियम पदार्थबाट वीरगञ्जमा मात्रै ३७ अर्ब राजस्व संकलन
वीरगञ्ज : चालु आर्थिक वर्षको छ महिनामा पेट्रोलियम पदार्थबाट मात्र ३६ अर्ब ९६ करोड ३६ लाख २४ हजार राजस्व संकलन भएको छ।
वीरगञ्जबाट ८७ अर्ब ३२ करोड ३९ लाख ४० हजार रुपैयाँ बराबरको डिजेल, पेट्रोल, लिक्विफाइड पेट्रोलियम ग्यास (एलपिजी), एभिएशन टर्बाइन फ्युल (एटिएफ) र मट्टितेल आयात हुँदा उक्त राजस्व संकलन भएको हो।
गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालु आर्थिक वर्षको छ महिनामा पेट्रोलियम पदार्थ आयातबाट चार अर्ब बढी राजस्व संकलन भएको छ।
चालु आर्थिक वर्षको छ महिनामा ४२ अर्ब २४ करोड रुपैयाँ बराबरको चार लाख ७९ हजार सात सय ९९ किलोलिटर डिजेल आयातबाट १८ अर्ब ९८ करोड रुपैयाँ राजस्व संकलन भएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ।
चालु आर्थिक वर्षको छ महिनामा दुई लाख २० हजार तीन सय ८५ किलोलिटर आयात भएको पेट्रोलबाट १२ अर्ब ४७ करोड रुपैयाँ राजस्व दाखिला भएको छ।
चालु आर्थिक वर्षको छ महिनामा आठ अर्ब नौ करोड रुपैयाँ बराबरको ८९ हजार तीन सय ८० किलोलिटर (एटिएफ) आयातबाट एक अर्ब एक करोड रुपैयाँ तथा ३६ करोड २० लाख रुपैयाँ बराबरको चार हजार २० किलोलिटर मट्टितेल आयातबाट १० करोड रुपैयाँ राजस्व संकलन भएको जनाइएको छ।
आर्थिक वर्ष २०८०/८१ को छ महिनामा ८८ अर्ब ७८ करोड रुपैयाँ बराबरका पाँच थरिका पेट्रोलियम पदार्थ आयात भएको थियो।
गत आर्थिक वर्षको सोही अवधिमा पेट्रोलियम पदार्थको आयातबाट ३२ अर्ब ९५ करोड ४१ लाख ४६ हजार रुपैयाँ राजस्व संकलन गरेको थियो।
माघ १०, २०८१ बिहीबार ११:२०:२१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।