नाजिर र सृष्टिको तारिफमा निर्देशक गौचन मख्ख, ‘उजेली २’ निर्माण घोषणा
काठमाडौं : नेपाली फिल्मका पुराना दर्शकले २२ वर्षअघि प्रदर्शनमा आएको फिल्म ‘उजेली’ बिर्सेका छैनन्। नयाँ पुस्तालाई यो फिल्मका बारेमा थाहा पनि नहुन सक्छ। त्यो समय हलमा लागेको यो फिल्म युटुबमा आएको छैन। यो फिल्मको चर्चासँगै निर्देशक दीपेन्द्र गौचनको उचाई बढेको थियो।
उनको नामलाई नै यो फिल्मले ब्रान्डिङ गर्यो। फरक कथा र खिचाई कारण उनको निर्देशन शैलीले गर्दा चर्चामा रहेका निर्देशक गौचन २२ वर्षपछि फिल्म ‘केटी हराएको सूचना’बाट दर्शकमाझ आउँदैछन्। गाउँले परिवेशको फिल्म ‘उजेली’पछि निर्देशक गौचनले पहाड र तराईको युवा-युवती बीचको माया प्रेमलाई पर्दामा उतार्ने प्रयास गरेका छन्। फिल्म शुक्रबारबाट प्रदर्शनमा आउँदैछ।
कम्बोडियामा शिक्षण पेशालाई अँगालेका निर्देशक गौचनले नयाँ पुस्ताका कलाकारहरू नाजिर हुसेन र सृष्टि श्रेष्ठलाई लिएर फिल्म ‘मिसिङ : केटी हराएको सूचना’ बनाए। आधा दर्जनभन्दा बढी नेपाली फिल्ममा काम गरिसकेका दुवै कलाकारले निर्देशक गौचनको दिल खोलेर तारिफ गरे।
मंगलबार ललितपुरमा पत्रकार भेटघाट कार्यक्रममा अभिनेत्री श्रेष्ठले निर्देशक गौचन राम्रो मेकर भएको बताइन्।
‘उहाँ एउटा राम्रो फिल्म मेकर हो,’ सृष्टिले निर्देशक गौचनको प्रशंसा गर्दै भनिन्, ‘समाजमा भएका कुराहरु मज्जाले पर्दामा उतार्न खोज्नुहुन्छ। उजेली पनि हेर्ने मौका पाएको थिए। जहाँ पफमेन्स नै होइन, रियल लाइफ हो जस्तो लागेको थियो।’
कलाकार नाजिरले ‘उजेली’को प्रशंसा गर्दै संवेदनशील विषयवस्तुलाई पनि सरल तरिकाले पर्दामा उतार्न सक्ने कला निर्देशक गौचनमा भएको बताए।
उनले भने, ‘उहाँ(गौचन)ले निर्देशन गर्नुभएको सर्ट फिल्म रिलिज भएका र नभएका, कम्बोडियामा बसेर आफ्ना विद्यार्थीहरूसँग बसेर जतिवटा फिल्म बनाउनु भएको छ। त्यसमा एकदमै सेन्सिटिभ चिजहरूलाई सरल तरिकाले देखाउनुभएको छ। जुन उहाँको खुबी हो।’
निर्देशक गौचनले भने फिल्मलाई हेर्ने समय र दृष्टिकोण बदलिएको भन्दै ‘मिसिङ : केटी हराएको सूचना’लाई दर्शकले फिल्म ‘उजेली’कै शैलीमा हेर्ने हुन् कि भन्ने डर लागेको सुनाए।
‘मेरो उहिलेदेखि कामभन्दा नाम ठूलो हो के। उजेलीको अझै पनि कुरा गर्छन्। दर्शकले धेरै एक्स्पेक्टेसन राखेका छन्। फिल्म हेरिसकेपछि दर्शकले ज्या भननुन् भन्ने डर लाग्छ’, उनले भने।
आफू नेपाल आएपछि धेरैले उजेलीको सिक्वेलको बारेमा सोध्ने गरेको भन्दै त्यसका लागि पनि समय निकाल्न लागेको बताए।
उनले थपे, ‘नेपाल आइसकेपछि उजेली टु बनाउने हो भन्छन् कतिपयले। त्यो पनि बनाउने हो।’
फिल्मका निर्माता तथा हल सञ्चालक नकिम उदिनले आफूले बनाएका अधिकांश फिल्म असफल भएको र यो फिल्म नचलेपनि फिल्म निर्माण नरोकिने बताए।
माघ १०, २०८१ बिहीबार ११:०१:५५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।