सुप्रिम सहकारीको रकम अपचलन सम्बन्धमा आज रवि लामिछानेको थुनछेक बहस हुँदै

सुप्रिम सहकारीको रकम अपचलन सम्बन्धमा आज रवि लामिछानेको थुनछेक बहस हुँदै

रुपन्देही : बुटवलको सुप्रिम सहकारीको रकम अपचलन गरेको अभियोगमा मुद्दा दायर भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको आज थुनछेक बहस हुँदैछ।

बुधबार जिल्ला न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा बयान सकिएका लामिछानेलाई मुद्दाको पुर्वपक्षका लागि धरौटीमा राख्ने, साधारण तारिखमा राख्ने वा कारागार पठाउने भन्ने विषयमा आज बहस हुनेछ।

यसअघि काठमाडौं जिल्ला अदालतमा आफैँ उपस्थित भएर बयान दिएका लामिछानेलाई बहसका लागि न्यायिक हिरासतमा राखिएको थियो।

रुपन्देही जिल्ला अदालतका न्यायाधीश प्रल्हादकुमार योगीले मिसिल अध्ययनसँगै बयान लिएपछि उनलाई श्रीमती निकिता पौडेल र उनका अधिवक्ता डा नारायणदत्त कँडेलको जिम्मामा छाड्न आदेश दिएका थिए।

लामिछाने आज बिहान १० बजे नै अदालत पुगेका छन्। रास्वपाका कार्यवहाक प्रवक्ता प्रतिभा रावलका अनुसार लामिछानेका तर्फबाट वरिष्ठ अधिवक्ताहरु सुशील पन्त,रमण श्रेष्ठ,सुरेन्द्र थापा सहित अधिवक्ता डा.नारायणदत्त कँडेल, राजेन्द्र सेढाई, सुरज बस्नेत,पशुपति भण्डारीसहितले बहस गर्ने छन्।

यस्तै सरकारी वकिलका तर्फबाट उच्च सरकारी वकिलको कार्यालय बुटवलका प्रमुख सह-न्यायाधिवक्ता सोमकान्ता भण्डारी, जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख प्रेमराज पौडेल, न्यायाधिवक्ता उमाकुमारी केसी, गोकर्णराज घिमिरे, वसन्तराज पोखरेल लगायतले बहस गर्ने छन्।

प्रहरीले सुप्रिम सहकारी प्रकरणमा रकम ठगीमा पहिलो चरणको अनुसन्धान गरेर गत वैशाख २ गते २८ जनालाई प्रतिवादी बनाएर जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो। फेरि असोज ५ गते रवि लामिछानेसहित १४ जनाविरुद्ध पूरक जाहेरी लिएर इलाका प्रहरी कार्यालयले मुद्दा चलाएको हो।

माघ १०, २०८१ बिहीबार १०:२९:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।