सरकारको बचाउमा शेखरले भने '६ महिनामा नै सबै गर्न सकिने कुरा त होइन'
मोरङ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले वर्तमान गठबन्धन सरकार कुनै हालतमा परिवर्तन नहुने बताएका छन्।
आज विराटनगरस्थित कोइराला निवासमा नेपाल प्रेस युनियन मोरङद्वारा आयोजित पत्रकार भेटघाटमा बोल्दै उनले नेपाली कांग्रेस र एमालेबीच सात बुँदे सहमतिका आधारमा निर्माण भएकाले सरकार परिवर्तन हुने कारण नरहेको बताए।
संविधान संशोधन, सुशासन र आर्थिक विकासका कुरालाई सरकारले गम्भीरतापूर्वक लिएर अगाडि बढ्नुपर्ने उनको सुझाव छ।
'त्यो सम्झौताले हामी अगाडि बढेका हौं। ६ महिनामा नै सबै गर्न सकिने कुरा त होइन। तर, जनताको आकांक्षा, इच्छा र देशको नैराश्य यति धेरै बढेर गएको छ कि त्यो हामीहरूको कल्पनाभन्दा बाहिरको कुरा भइरहेको छ, उनले भने।
उनले संविधान संशोधनको विषयलाई जनतामाझ लैजानुपर्नेमा जोड दिए।
नेता कोइरालाले हालै आफ्नो बेलायत भ्रमणको क्रममा त्यहाँका उद्योगपतिहरूलाई नेपालमा संयुक्त उद्योग खोल्न आग्रह गरेको बताए। यसबाट नेपालको दुई छिमेकी मुलुकबाट हुने व्यापार घाटा कम हुने उनको विश्वास छ।
कोइरालाले देश चल्न नसक्ने अवस्थामा मात्रै अध्यादेश ल्याउनुपर्ने बताए। पछिल्लो पटक सरकारले ल्याएको अध्यादेश आफूले नपढेको उनको भनाइ छ।
माघ ९, २०८१ बुधबार २०:०१:४० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।