एमाले नेतृत्वप्रति अफबाह फैलाउनेविरूद्ध प्रतिकार गर्न कार्यकर्तालाई अर्थमन्त्रीको निर्देशन
काठमाडौं : अर्थमन्त्री एवं एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले वर्तमान सरकार कुनै पनि बहानामा नढल्ने दाबी गरेका छन्।
एमाले कास्कीद्वारा आज पोखरामा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले सरकार टिकाउने मात्रै कर्तव्य नभई यसलाई सफल र परिणाममुखी बनाउनु आजको मुख्य जिम्मेवारी भएको बताए।
मुलुकमा बढेको अस्थिरता र बेथितिको अन्त्य गरी राष्ट्र र जनताका पक्षमा परिणाममुखी काम गर्ने लक्ष्यका सरकार अघि बढेको बताउँदै उनले विषम परिस्थितिमा नेपाली कांग्रेस र एमालेबीच सात बुँदे सहमतिका साथ गठबन्धन भएको बताए।
यो सरकारप्रति नागरिकले गरेको आशा र भरोसालाई छिटोछरितो पूरा गर्न अध्यादेश ल्याएको बताउँदै उनले संसद्बाट अध्यादेश पारित हुने दाबी गरे।
उनले एमालेप्रति जनताको बढेको विश्वासलाई आत्मसात् गर्दै मुलुकको निर्णायक शक्ति बनाउने अभियानमा जुट्न कार्यकर्तालाई निर्देशन दिए। उपाध्यक्ष पौडेलले पार्टीको नीति र नेतृत्वप्रति अफबाह फैलाउनेविरूद्ध सङ्गठित भएर प्रतिकार गर्न भने।
माघ ९, २०८१ बुधबार १९:२१:२६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।