वनमा दाउरा काट्न गएकी वृद्ध महिलाको टाउकै नभएको अवस्थामा शव भेटियो
काठमाडौं : वन्यजन्तुको आक्रमणबाट बाँकेको राप्तीसोनारी गाउँपालिका-८ ओभरीका ६७ वर्षीया चेती बुढाथोकीको ज्यान गएको छ।
शम्शेरगञ्ज सबडिभिजन कार्यालयका वरिष्ठ वन अधिकृत मनोज शर्माका अनुसार आज भवती सामुदायिक वनमा दाउरा काट्न गएकी बुढाथोकीलाई वन्यजन्तुले आक्रमण गरी मारेको हुनसक्ने अनुमान गरिएको छ।
'मृतकको टाउको नै नभएको अवस्थामा फेला परेको हुनाले हामीले बाघ वा चितुवामध्ये कुनै एक वन्यजन्तुले मारेको हुनसक्ने आशङ्का गरेका छौं, उनले भने, 'मृतक चेतीलाई वन्यजन्तुले आक्रमण गर्दै गरेको कसैले नदेखेको हुनाले ठ्याक्कै बाघले नै मारेको भन्न सकिँदैन वा चितुवाले नै मारेको भन्न सकिँदैन।'
यसको फरेन्सिक जाँच भयो भने मात्र यकिन गर्न नसकिने उनले बताए।
वरिष्ठ वन अधिकृत शर्माका अनुसार आज दिउँसो ३ बजेको समयमा पूर्वपश्चिम राजमार्गदेखि एक किमी पूर्वी भागमा लतारिएको अवस्थामा मृतक चेतीको शव भेटिएको थियो।
माघ ९, २०८१ बुधबार १८:५८:४९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।