रविलाई भोलि अदालतमा उपस्थित हुने सर्तमा निकिता र कानून व्यवसायीको जिम्मामा छाडियो

रविलाई भोलि अदालतमा उपस्थित हुने सर्तमा निकिता र कानून व्यवसायीको जिम्मामा छाडियो
फाइल

काठमाडौं : बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा जोडिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने हाजिरी जमानीमा रिहा भएका छन्।

रूपन्देही जिल्ला अदालतका न्यायाधीश प्रल्हादकुमार योगीको इजलासले उनलाई भोलि उपस्थित हुने सर्तमा पत्नी निकिता पौडेल र कानून व्यवसायीको जिम्मा लगाउन आदेश दिएको हो।

अदालतका सूचना अधिकारी अनन्तराज मरासिनीका अनुसार भोलि १० बजे अदालतमा उपस्थित गराउने गरी रविको कानुन व्यवसायी र श्रीमती निकिता पौडेल लामिछानेको जिम्मा जवानीमा छाड्ने आदेश भएको छ। 

बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनसम्बन्धी मुद्दामा बुधबार रविको बयान सकिएको हो। भोलिदेखि थुनछेक बहस सुरू हुनेछ। 

लामिछानेसहित ४२ जनालाई प्रतिवादी बनाउँदै सुप्रिम सहकारीको रकम ठगी र सङ्गठित अपराधमा रुपन्देहीमा मुद्दा दर्ता भएको छ।

आइतबार जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीले मुलुकी फौजदारी अपराध संहिताको ठगी कसुर र सङ्गठित अपराध गरेको कसुरमा १४ जना थपेर ४२ जनालाई प्रतिवादी बनाएर जिल्ला अदालत रुपन्देहीमा अभियोग पत्र दायर गरेको हो।

अभियोग पत्रमा लामिछानेविरुद्ध व्यक्तिगत २ करोड र सामूहिक २ करोड सहित चार करोड भन्दा बढी बिगो माग दाबी गरिएको छ।

रविको नाममा २ करोड रुपैयाँ ऋण गएको भौचरसहित गोर्खा मिडिया प्रालिको नाममा अवैध रूपमा सहकारीबाट गएको रकम समेत जोडेर चार करोड बिगो कायम भएको देखिन्छ।

सुप्रिम सहकारीको रकम अपचलनबारे दायर भएको यो  दोस्रो पूरक अभियोग पत्र हो। यस अगाडि वैशाख ३ मा पहिलो पटक अदालतमा अभियोग पत्र गएको थियो। पहिलो अभियोग पत्रमा १ हजार ८ सय ३१ बचतकर्ताको ८६ करोड १८ लाख २३ हजार ७ सय ५४ रुपैयाँ हिनामिना भएको दाबीसहित २८ जनालाई प्रतिवादी बनाइएको थियो। आइतबार दायर गरिएको पूरक अभियोग पत्रमा थप १४ जनालाई प्रतिवादी बनाइएको छ।

माघ ९, २०८१ बुधबार १८:३०:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।