कवाड व्यवसायीहरूमाथि दमन नगर्न जसपा नेपालको माग

कवाड व्यवसायीहरूमाथि दमन नगर्न जसपा नेपालको माग

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) नेपालले कवाड व्यवसायीहरूको सुरक्षा र स्वतन्त्र रुपले आ-आफ्नो व्यवसाय सञ्चालन गर्न पाउने मौलिक अधिकारको प्रत्याभूति गराउन सरकारसँग माग गरेको छ।

बुधबार पार्टीले प्रेस विज्ञप्ति जारी गर्दै काठमाडाैँ महानगरपालिकाले कवाड व्यवसायीलाई कुटपिट, गालीगलौज, दमन, उत्पीडन र अभद्र व्यवहार गरी कवाड व्यवसायलाई रोक्न खोज्नु र लाखौं व्यक्तिहरूलाई बेरोजगार बनाउने प्रयास गर्नु अत्यन्त पूर्वाग्रही, गलत र निन्दनीय कार्य भएको भन्दै नेपाल सरकारको ध्यानाकर्षण गराएको हो।  

‘कवाड व्यवसायीहरू नेपाल सरकारको अनुमति प्राप्त गरी काठमाडौं महानगरपालिकामा २५ वर्षदेखि सञ्चालित रहेको र सरकारलाई तिर्नुपर्ने सम्पूर्ण करहरुसमेत तिर्दै १ लाखभन्दा बढी व्यक्तिहरूले रोजगारी पाएको अवस्था छ,’ पार्टीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

कवाड व्यवसायीहरूले देशमा सञ्चालित उद्योगहरूलाई आवश्यक पर्ने कच्चा पदार्थ उपलब्ध गराउनुका साथै वातावरणीय सरसफाइमा समेत महत्वपूर्ण योगदान पुर्याइरहेको जसपा नेपालको ठहर छ। 

माघ ९, २०८१ बुधबार १८:०७:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।