लोप हुँदै खोकनाका मौलिक घर, २०४६ सालको परिवर्तनपछि भित्रियो नयाँपन

लोप हुँदै खोकनाका मौलिक घर, २०४६ सालको परिवर्तनपछि भित्रियो नयाँपन

ललितपुर : ललितपुर महानगरपालिका-२१ खोकना ऐतिहासिक नेवा बस्तीका रुपमा चिनिन्छ। शुद्ध तोरीको तेल पाइने र नेपालको पहिलो बिजुली बत्ती बल्ने गाउँका रुपमा खोकना परिचित छ। ऐतिहासिक सम्पदा रुद्रायणी मन्दिरका कारण पनि खोकना परिचित छ। विसं २०४६ यता राजनीतिक परिवर्तनसँगै बस्तीमा नयाँपन आएको स्थानीय बताउँछन्।

ललितपुर-२१ खोकनामा जम्मा एक हजार ४० घरधुरीमा परम्परागत मौलिक घर हाल छ मात्र बाँकी रहेको खोकनाका स्थानीय कृष्णभक्त महर्जन बताउँछन्। मौलिकपन हाम्रो सम्पत्ति भएकाले आउने पुस्ताका लागि बचाउनुपर्ने उनको भनाइ छ। 

उनका अनुसार खोकनाको नेवा बस्ती आदिमकालदेखिको हो। विशेषगरी खोकनामा नेवार समुदायअन्तर्गत ज्यापू समुदायको बसोबास हुँदै आएको छ।

उनी भन्छन्, ‘हाल पनि खोकनाको रुद्रायणी मन्दिरको मूल पुजारी डङ्गोल र महर्जनमा हुने चलन छ, खोकनाका सबै स्थानीयले मौलिक संस्कृति बचाउन प्रयास गरिरहेका छौँ।’

आफूले थाहा पाएअनुसार आफ्नो चार पुस्तादेखि रुद्रायणी मन्दिर र अन्य जात्राहरूमा बजाउने बाजाको संरक्षण गर्दै आएको रुद्रायणीदेवी मन्दिरको बाजा संरक्षण समितिका अध्यक्ष स्थानीय हरिराम डङ्गोलको भनाइ छ। 

नेवारी संस्कृतिमा प्रयोग हुने बाजा संरक्षण गरिराखेको पुरानो मौलिक घर गत असोज १२ को बाढीको समयमा भत्केको स्थानीय बताउँछन्। उनका अनुसार ऐतिहासिक मौलिक घर भत्किएपछि वाद्यवादनका सामग्री अर्को साथीको घरमा सारिएको छ। मौलिकता संरक्षण गर्नेहरूका लागि सरोकारवालाले सहयोग गर्नुपर्ने उनको भनाइ छ।

खोकनाका स्थानीय ७८ वर्षीय मदनकृष्ण डङ्गोलको नेवा शैलीको मौलिक घर निकै जीर्ण अवस्थामा छ। मदनकृष्ण डङ्गोल र स्थानीयका अनुसार यो घरलाई नेपालको पहिलो बिजुलीबत्ती बलेको घरका रुपमा चिनिन्छ। 

नेपालको पहिलो जलविद्युत् आयोजना फर्पिङ जलविद्युत् आयोजनाबाट प्रसारण लाइन जोडेर खोकनामा पहिलो पटक बत्ती बलेको इतिहास छ।

खोकनाको मौलिकता बचाउनका लागि स्थानीय मदनकृष्णले व्यक्तिगत घरलाई खोकना सङ्ग्रहालयका रुपमा स्थापना गरेका थिए। विसं २०७२ को भूकम्पपछि जीर्ण बन्दै गएको घर अहिले जीर्णोद्धारको पर्खाइमा रहेको छ। 

ललितपुर–२१ का वडाध्यक्ष रवीन्द्र महर्जनका अनुसार मौलिकता बचाउनका लागि घरधनीको मञ्जुरीमा खोकना सङ्ग्रहालयका रुपमा रहेको मौलिक घरको जीर्णोद्धार गरी मौलिकता संरक्षण गरिनेछ।

खोकनाको मौलिकता बचाउनका लागि चारवटा ऐतिहासिक मिलको पुनर्निर्माण गरेको वडाध्यक्ष महर्जन बताउँछन्। उनका अनुसार दुई मिलको काम सकेको र अब दुई मिलको काम छिट्टै सम्पन्न हुनेछ। 

खोकनाको मौलिकता बचाउनका लागि पोखरी, पाटी ढुङ्गेधारा मन्दिरलगायत ऐतिहासिक संरचनाको पुनर्निर्माण गर्ने र ओझेलमा परेका सम्पदाको खोजी गर्ने गरेको उनको भनाइ छ।

माघ ९, २०८१ बुधबार १७:५२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।