हुन्डाई क्रेटा ईभी नेपाल भित्रिँदै, फेब्रुअरीको अन्त्यमा सार्वजनिक हुने
काठमाडौँ : हुन्डाई मोटर्सले आफ्नो बहुप्रतिक्षित इलेक्ट्रिक एसयूभी मोडेल क्रेटा ईभी नेपाली बजारमा फेब्रुअरीको अन्त्यमा भित्र्याउने भएको छ। कम्पनीले दिएको जानकारी अनुसार यो गाडी दुई भेरिएन्टमा उपलब्ध हुनेछ।
नयाँ भेरिएन्टमा ४२ किलोवाट आवर क्षमताको ब्याट्री रहनेछ जसले एक पटक चार्ज गर्दा ३९० किलोमिटरसम्म यात्रा गर्न सक्षम छ। नेपालको भौगोलिक अवस्था अनुसार यो दूरी ३००-३३० किलोमिटर हुने अनुमान गरिएको छ।
त्यसैगरी "लङ रेन्ज" भेरिएन्टमा ५२ किलोवाट आवर क्षमताको ब्याट्री जडान गरिएको छ। यसले एक पटक चार्ज गर्दा ४७३ किलोमिटरसम्म यात्रा गर्न सक्छ। नेपालको भौगोलिक अवस्थामा यो दूरी ३९०-४२० किलोमिटर हुने बताइएको छ।
नेपालको विशिष्ट भू-बनोटलाई मध्यनजर गर्दै यस गाडीमा २०० मिलिमिटरको ग्राउन्ड क्लियरेन्स दिइएको छ। यसले सहरी सडकदेखि पहाडी क्षेत्रसम्म सहज यात्रा गर्न सक्ने कम्पनीको दाबी छ।
गाडीमा ११ किलोवाटको एसी होम चार्जिङ सिस्टम जडान गरिएको छ जसले ४ घण्टामै पूर्ण चार्ज हुन्छ। साथै राजमार्ग र सहरी क्षेत्रमा फास्ट चार्जिङ स्टेशनको पनि व्यवस्था गरिने कम्पनीले जनाएको छ।
सुरक्षाका लागि यसमा एडभान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम (ADAS) जडान गरिएको छ। भेन्टिलेटेड सिट, प्यानोरामिक सनरूफ र उन्नत इन्फोटेनमेन्ट सिस्टम जस्ता सुविधाहरू पनि समावेश गरिएको छ।
भारतमा करिब ७० प्रतिशत स्थानीय उत्पादन हुने यो गाडी नेपाली बजारका लागि किफायती हुने विश्वास कम्पनीले लिएको छ। क्रेटा ईभीको मूल्य भने पछि सार्वजनिक गरिने जनाइएको छ।
माघ ९, २०८१ बुधबार १६:५६:५५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।