अध्यादेशले सहजीकरण गरेको भन्दै सफ्टवेयर र आइटीको संस्थाले प्रधानमन्त्रीलाई भेटेर दिए धन्यवाद
काठमाडौँ : सरकारले हालै अध्यादेश ल्याएर सूचना प्रविधि सम्बन्धी क्षेत्रको लगानीलाई सहजीकरण गरेको भन्दै नेपाल एसोसिएसन फर सफ्टवेयर एन्ड आइटी सर्भिसेज कम्पनीज् (नासआईटी) ले प्रधानमन्त्रीलाई धन्यवाद दिएको छ।
उनीहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर सरकारले अध्यादेशमार्फत सूचना प्रविधि उद्योगसँग सम्बन्धित कानुनमा आवश्यक सुधार र सहजीकरण गर्दै विभिन्न सुविधा र सम्भावनाहरूको सुरुवात गरेको भन्दै धन्यवाद दिए।
‘नासआईटीले हालैको अध्यादेशलाई समयमै कार्यान्वयन गराउन र आवश्यक कार्यविधि तथा निर्देशिका जारी गरी सम्बन्धित निकायहरूद्वारा थप सहजीकरण हुने विश्वास व्यक्त गरेको छ’ संस्थाले जारी गरेको विज्ञप्तिमा भनिएको छ ‘यसबाट सूचना प्रविधि क्षेत्रमा कार्यरत स्वदेशी र विदेशी लगानीकर्ताहरूलाई सकारात्मक सन्देश जानेछ, जसले समग्रमा सूचना प्रविधि उद्योगको विकासमा थप टेवा पुर्याउनेछ।’
सरकारले यस आर्थिक वर्षको बजेटमार्फत आगामी १० वर्षभित्र सूचना प्रविधि (आइटी) उत्पादन र सेवाहरूको ३० खर्ब रुपैयाँ बराबरको निर्यात गर्ने लक्ष्य निर्धारण गरेको छ। साथै सूचना प्रविधि क्षेत्रमा ५ लाख प्रत्यक्ष रोजगारी र १० लाख अप्रत्यक्ष रोजगारी सिर्जना गर्ने लक्ष्य राखेको छ।
सो लक्ष्य प्राप्त गर्न हालै आएको अध्यादेशले सकारात्मक भूमिका खेल्ने र कोशेढुँगा साबित हुने उनीहरूको दाबी छ।
माघ ९, २०८१ बुधबार १६:४७:५२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।