तीन बुँदे सहमतिपछि कांग्रेसले पोखरा महानगरमा लगाएको ताला आफैं खोल्यो, एमालेको अर्को चेतावनी

तीन बुँदे सहमतिपछि कांग्रेसले पोखरा महानगरमा लगाएको ताला आफैं खोल्यो, एमालेको अर्को चेतावनी

पोखरा : नेपाली कांग्रेस समर्थित नगर सभासदहरूले पोखरा महानगरपालिकामा लगाएको ताला आज बिहान आफैं खोलेका छन्।  

मेयर धनराज आचार्यसँग तीन बुँदे सहमति भएको भन्दै उनीहरुले महानगरपालिकामा लगाएको ताला आज बिहान आफैं खोलेका हुन्।  

गणपूरक संख्या पुगेर पनि मेयर धनराज आचार्यले अकस्मात् नगरसभा माघ १० सम्मका लागि स्थगित गरेको भन्दै आक्रोशित उनीहरुले मेयर आचार्यसहित उपमेयर मन्जुदेवी गुरुङ र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा ताला लगाएका थिए। 

सोही दिन एमाले समर्थित नगर सभा सदस्यहरूले भने महानगरको विशेष नगर सभाले पारित गरेका एजेन्डाहरू त्यस दिनको नगर सभाको एजेन्डामा नै नपरेको भन्दै बहिष्कार गरेको पोखरा ५ का वडाध्यक्ष बिष्णु प्रसाद बरालले बताए।  

नेपाली कांग्रेस पोखरा महानगर संसदीय दलका नेता दिवास्मान प्रधानाङ्गका अनुसार मेयर आचार्यसँग पोखरा महानगरपालिकामा प्रतिनिधित्व गर्ने जनप्रतिनिधिहरूबीच गएको मंसिर २३ मा बसेको विशेष नगरसभा मार्फत पारित सात बुँदे सहमति पालना गर्ने, वडा कार्यालय, महाशाखा, शाखा लगायत खर्च केन्द्रहरूका शिर्षकान्तर र रकमान्तर हुन नसकी पूर्वाधार विकास तथा अन्य कार्यहरू ठप्प हुन गएको अवस्थामा महानगरको १६ औं नगरसभा मार्फत आवश्यक निर्णय गर्ने गरी चालु नगर सभा माघ ११ मा बोलाउने सहमति भएको थियो।  

प्रधानाङ्गले करारका कर्मचारीलाई माघ १ देखि करारमुक्त गर्ने र महानगरमा काजमा आएका कर्मचारीलाई उसकै दरबन्दीमा फर्काउने लगायतका निर्णयहरू कार्यान्वयन गर्नमा प्रतिबद्ध रहेको बताए।  

यता एमालेका तर्फबाट पोखरा ५ मा वडाध्यक्ष बनेका बरालले विगतमा आफ्नो पार्टीसँग भएको सहमति बमोजिमका एजेन्डाहरू माघ ११ को नगर सभामा पेश नभए बैठक नै चलन नदिने चेतावनी दिए।  

वडाध्यक्ष बरालले आउने नगर सभा बैठकमा आर्थिक महाशाखा गठन, बक्यौता रकम असुली सम्बन्धी कार्य योजना लगायतका प्रस्तावहरू नआएमा बैठक नै चलन नदिने बताए।  

सहमति कार्यान्वयन सम्बन्धमा नगर सभामै छलफल गर्न सक्ने अवस्थामा नेपाली कांग्रेसले महानगरका मेयर, उपमेयर र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी गरेर महाभूल गरेको वडाध्यक्ष बरालको टिप्पणी छ।

माघ ९, २०८१ बुधबार १५:२३:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।