दिल्लीमा ११औं अटो ट्रेड डायलग सम्पन्न, नाडा अध्यक्ष चौधरीले के भने?
काठमाडौं : भारतको राजधानी नयाँ दिल्लीमा ११ औं अटो ट्रेड डायलग सम्पन्न भएको छ।
सोसाइटी अफ इण्डियन अटोमोवाइल म्यानुफयार्चस (यसआईएयम)का अध्यक्ष राहुल भारतीको प्रमुख आतिथ्यतामा यही जनवरी २० मा कार्यक्रम भएको हो।
नाडाका अध्यक्ष करण चौधरीले स्थानीयकरण गरिएका नीति र त्यसले व्यापारमा पार्ने प्रभाव सम्बन्धी प्यानल छलफलमा पेनेलिष्टका रूपमा ओभरभ्यु अफ नेपाल अटो पोलिसिजका सम्बन्धमा आफ्ना धारणा राखेका छन्।
नेपालको अटोमोवाइल क्षेत्रले राष्ट्रिय अर्थतन्त्र र रोजगारीमा दिएको योगदानबारे जानकारी दिँदै अध्यक्ष चौधरीले नेपालको सडक सुरक्षाका सम्बन्धमा भइरहेको प्रयासबारे बताए।
नेपाल सवारी साधनहरूको आयातकर्ताबाट एसेम्बली प्लान्ट मार्फत उद्योगतर्फ अग्रसर हुँदै गएको उनले जनाए।
नेपालमा आइसी गाडीहरूको आयात घट्दै गएको भए पनि नेपालको सरकारले ग्रीन इनर्जिलाई उच्च प्राथमिकतामा राखेको फलस्वरुप नेपालमा विद्युतिय सवारी साधनको आयात हरेक बर्ष बढदै गएको र सोही अनुरुप चार्जिङ्ग स्टेशनहरु पनि क्रमशः थपिदै गएको बताउँदै अध्यक्ष चौधरीले नेपाल अहिले विद्युतिय सवारी साधनको हव बन्दै गएको समेत बताए।
११औं अटो ट्रेड डायलग कार्यक्रमलाई दक्षिण अफ्रिकाका डेपुटी हाई कमिश्नर सेड्रिक सि क्रोवेली, जर्मनीका फेडरल मिनिष्ट्रीका डिजिटल एण्ड ट्रान्सपोर्ट महानिर्देशक डा. सेभेन हलड्रोन, भारतका लागि ब्राजिली राजदूत एच.इ.केन्नेथ एफ.एच दा नोबे्रगा, मिनिष्ट्रि अफ हेवी इण्डष्ट्रिजका अतिरिक्त सचिव डा. हानिफ कुरेशी, मिनिष्ट्रि अफ कमर्श एण्ड इण्डष्ट्रिका अतिरिक्त सचिव एल सत्या श्रीनिवासले समेत आफ्ना भनाइ राखेका छन्।
डायलग कार्यक्रम तीन चरणमा सम्पन्न गरिएको थियो। पहिलो चरणमा व्यापार सम्झौतामामा एकिकृत लगानी, दोश्रो चरणमा स्थानीयकरण गरिएका नीति र त्यसले व्यापारमा पार्ने प्रभाव र तेश्रो चरणमा विकसित विश्वव्यापी व्यापारको परिदृष्यमा लचिलोपना विकास गर्ने शीर्षक अन्तर्गत भएको छलफलमा विश्व व्यापार संगठनका प्रतिनिधि लगायत विभिन्न देशबाट आएका प्रतिनिधिले पेनेलिष्टका रुपमा आ-आफनो धारणा राखेका छन्।
यही जनवरी १७ देखि २१ सम्म भारतको नयाँ दिल्लीमा आयोजित भारत मोविलिटी अन्तर्गत भइरहेको अटो प्रदर्शनीको सन्दर्भमा नाडाका अध्यक्ष चौधरीको नेतृत्वमा नाडा केन्द्रीय कार्य समितिका पदाधिकारी तथा सदस्यको प्रतिनिधिमण्डल भारत भ्रमणमा रहेको छ।
सो कार्यक्रममा नाडाकातर्फबाट संस्थागत उपाध्यक्ष तेजनारायण साह, महासचिव सुरेन्द्रकुमार उप्रेती केन्द्रीय कार्यसमितिको सदस्य कपिल शिवाकोटी र प्रदीपमान प्रधान समेत सहभागी छन्।
माघ ९, २०८१ बुधबार १४:०९:५६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।