यु१९ महिला विश्वकपमा अष्ट्रेलियाद्वारा नेपाललाई एक सय ४० रनको लक्ष्य
काठमाडौं : मलेसियामा जारी आईसीसी यु१९ महिला टी२० विश्वकपको समूह चरणको आफ्नो अन्तिम खेलमा अष्ट्रेलियाले नेपाललाई एक सय ४० रनको ठूलो लक्ष्य दिएको छ।
मलेसियाको युकेएम क्रिकेट ओभलमा टस जितेर पहिला ब्याटिङ रोजेको अष्ट्रेलियाले निर्धारित २० ओभरमा छ विकेट गुमाएर एक सय ३९ रन बनाएको हो।
अष्ट्रेलियाले पावर प्लेमा तीन विकेट गुमाए पनि पछि सम्हालिएर खेल्यो। उसका लागि काउमही ब्रेले सर्वाधिक ४५ रनको पारी खेल्दा इलियानोर लारोसाले ३१ रन जोडिन्।
यसका अलावा हर्सत गिल र चियोल एन्सवर्थले अविजित रहँदै क्रमश: ३० र १६ रनको पारी खेले।
नेपालका लागि कप्तान पूजा महतोले पावर प्लेमै तीन विकेट लिँदा सिमाना केसीले दुई तथा रिया शर्माले एक विकेट लिए।
नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ। आजको खेलमा अष्ट्रेलियालाई पराजित गर्न सके नेपालले सुपर सिक्समा स्थान बनाउनेछ। अन्यथा घर फर्कनेछ।
नेपाल आफ्नो पहिलो खेलमा बंगलादेशसँग पाँच विकेटले पराजित हुँदा दोस्रो खेलमा स्कटल्यान्डसँग एक विकेटले हार्यो।
अस्ट्रेलिया सुरुवाती दुवै खेल जितेर १ खेल अघि नै सुपर सिक्स प्रवेश गरिसकेको छ। महिला क्रिकेटको कुनै पनि स्तरमा नेपालले अस्ट्रेलियासँग पहिलो पटक खेल्न लागेको हो।
माघ ९, २०८१ बुधबार १३:५७:३१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।