परिवारसँग बस्दा खेल बिग्रँदैन- कप्तान बटलर
एजेन्सी : इंग्ल्याण्डका ह्वाइट बल क्रिकेटका कप्तान जोस बटलरले क्रिकेट शृंखलामा परिवारसँगै बस्दा खेलमा कुनै असर नपर्ने बताएका छन्।
लामो यात्रामा आफूलाई उत्प्रेरित र ताजा राख्न परिवारको सहयोग चाहिने भन्दै कोभिडपछि परिवारको साथ अझ महत्त्वपूर्ण लागेको बताए।
बटलरको यो बयान भारतीय क्रिकेटको नियामक बीसीसीआईले भारतीय खेलाडीलाई आफ्नो परिवारसँग भेट्न समय सीमा तोकेपछि आएको हो। भारतीय कप्तान रोहित शर्मा पनि यो निर्णयबाट खुसी देखिएका छैनन्।
भारत र इंग्ल्याण्डबीचको टी-२० सिरिजको पहिलो खेल आज साँझ सवा सात बजेबाट सुरू हुनेछ।
बटलरले खेलअघि भने, ‘मलाई लाग्छ यो धेरै महत्त्वपूर्ण छ। हामी आधुनिक संसारमा बाँचिरहेका छौँ र यस्तो समयमा परिवार पनि सँगै हुनुपर्छ, ताकी हामी परिवारका सदस्यहरूसँग हाम्रा दुःख र खुशी बाँड्न सकौँ।’
खेलाडीका रूपमा क्रिकेट मैदानमा धेरै समय खर्च हुने र खेलाडीहरू परिवारसँग धेरै समय टाढा बस्ने भएकाले पनि परिवारसँग समय बिताउनु अझ महत्त्वपूर्ण हुने उनको भनाइ छ।
उनले थपे, ‘परिवारसँग बस्दा खेलकुदमा नराम्रो असर पर्छ भन्ने मलाई पटक्कै लाग्दैन।’
अन्य देशमा गएर लामो समय क्रिकेट खेल्दा खेलाडीहरू मानसिक रूपमा विचलित हुन थाल्ने उनको भनाइ छ।
उनले अगाडि थपे, ‘विशेष गरी जब नतिजा हाम्रो पक्षमा हुँदैन, यस्तो अवस्थामा हामीले परिवारको सदस्यसँग समय बिताउनु महत्त्वपूर्ण हुन्छ।’
न्युजिल्याण्ड विरुद्धको टेस्ट सिरिज ३-० ले र अस्ट्रेलिया ३-१ ले पराजित भएपछि बीसीसीआईले खेलाडीहरूलाई १० नियम बनाएको छ।
यीमध्ये एउटा नियम परिवारसँग सम्बन्धित थियो, जसमा ४५ दिनभन्दा बढीको टुरमा परिवारका सदस्यले २ हप्ता मात्रै खेलाडीसँग बस्न पाउने भनिएको थियो।
यति मात्र होइन, खेलाडीले आफ्नो परिवारलाई भेट्नका लागि टोलीका मुख्य प्रशिक्षकसँग पनि अनुमति लिनुपर्ने उल्लेख थियो।
बटलरले टि-२० सिरिजका कारण च्याम्पियन्स ट्रफीको तयारीमा कुनै फरक नआउने समेत बताए।
‘म खेल तालिकाको बारेमा चिन्तित छैन, म केवल खेल खेल्नमा ध्यान केन्द्रित गरिरहेको छु। टी–२० सिरिज निकै रोमाञ्चक हुनेछ। त्यसपछि एकदिवसीय खेलहरू पनि हुनेछन्, म त्यसमा खेल्न उत्साहित छु।’
भारत र इंग्ल्याण्डबीचको पाँच खेलको टी-२० सिरिज २२ जनवरीदेखि २ फेब्रुअरीसम्म चल्नेछ। इंग्ल्याण्डले पहिलो खेलका लागि प्लेइङ-११ घोषणा गरेको छ।
६ देखि १२ फेब्रुअरीसम्म एकदिवसीय सिरिजका ३ खेल हुनेछन्। त्यसपछि च्याम्पियन्स ट्रफी पनि १९ फेब्रुअरीबाट पाकिस्तान र युएईमा सुरु हुनेछ।
माघ ९, २०८१ बुधबार १०:२६:२२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।