वेस्ट बैंकमा इजरायलको सैन्य कारबाही, नौ प्यालेस्टिनी मारिए
एजेन्सी : इजरायलले कब्जा गरेको वेस्ट बैंकको जेनिनमा इजरायली सेनाको कारबाहीमा नौ प्यालेस्टाइनीको मृत्यु भएको प्यालेस्टाइनको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
इजरायली सेनाको कारबाहीमा अन्य ३५ जना घाइते भएका छन्।
प्यालेस्टिनी सञ्चारमाध्यमका अनुसार शहरका धेरै ठाउँमा आक्रमण भएका छन्। शहर बाहेक राहत शिविरमा ठूलो संख्यामा सैनिकको आवतजावत भएको छ।
मंगलबार इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले सामाजिक सञ्जालमा इजरायली सेनाले जेनिनबाट आतंकवाद हटाउन ठूलो मात्रामा अभियान सुरू गरेको लेखेका छन्।
वेस्ट बैंकमा इजरायलको कारबाहीपछि हिंसा भड्कने सम्भावना छ।
सैन्य कारबाहीका सम्बन्धमा जेनिनका गभर्नर कमल अबु अल-रुबले एएफपी समाचार एजेन्सीलाई भने, ‘आकाशमा हेलिकप्टर देखिन्थ्यो र इजरायली सैनिकहरू जताततै देखिन्थे।’
प्यालेस्टाइनको आधिकारिक समाचार एजेन्सी वाफाले स्थानीय स्रोतहरूलाई उद्धृत गर्दै इजरायली सेनाले जेनिन क्याम्पलाई पूर्ण रूपमा घेरेको र बुलडोजरहरूले धेरै सडकहरू खनेको बताएको छ।
माघ ९, २०८१ बुधबार ०९:२९:२२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।