तालिबानद्वारा एक अफगान बन्दीको बदलामा दुई अमेरिकी नागरिकलाई रिहा
एजेन्सी : पूर्व अमेरिकी राष्ट्रपति जो बाइडेनको कार्यकाल सकिनुअघि अफगानिस्तानमा तालिवानको हिरासतमा रहेका दुई अमेरिकीलाई रिहा गरिएको छ।
तालिबान र अमेरिकी प्रशासनबीच भएको सम्झौताअनुसार लागूऔषध तस्करी र चरमपन्थीको आरोपमा अमेरिकामा बन्दी रहेका एक अफगान बन्दीलाई रिहा गर्ने बदलामा यो सम्झौता भएको हो।
यो सम्झौता तालिबान सरकारले घोषणा गरेको थियो, जुन राष्ट्रपति जो बाइडेनको कार्यकाल समाप्त हुनु अघि नै सम्पन्न भएको थियो। अमेरिकी नागरिक रायन कोर्बेट र विलियम वालेस म्याकेन्टीलाई तालिवान सरकारले रिहा गरेको थियो।
कोर्बेट धेरै वर्षदेखि आफ्नो परिवारसँग अफगानिस्तानमा बस्दै आएका थिए र दुई वर्षअघि तालिबानले गिरफ्तार गरेका थिए। अफगान नागरिक खान मोहम्मद क्यालिफोर्नियाको संघीय जेलमा आजीवन कारावासको सजाय भोगिरहेका थिए।
विगत दुई वर्षदेखि सहमतिको प्रयास भइरहेको थियो। यसमा कतारले मध्यस्थता गरेको बताइएको छ। खान मोहम्मद तालिबानका सदस्य थिए र अमेरिकी सैन्य कारबाहीका क्रममा अफगानिस्तानमा पक्राउ परेका थिए। उनलाई सन् २००८ मा सजाय सुनाइएको थियो।
यो सम्झौताले दुई देशबीचको सम्बन्धलाई पुनः सन्तुलनमा ल्याउने सम्भावना नरहेको भए पनि यसपछि अफगानिस्तानमा थुनामा रहेका अन्य दुई अमेरिकीको रिहाइको वार्ता अगाडि बढ्ने सम्भावना छ।
माघ ९, २०८१ बुधबार ०७:१७:३० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।