लेखा समिति सभापतिको राजीनामाबारे एमाले-माओवादी सांसद भनाभनमा उत्रिए, कांग्रेस सांसद रमिते
काठमाडौँ : माओवादी सत्ताधारीबाट प्रतिपक्षी दलमा झरेसँगै निरन्तर सार्वजनिक लेखा समितिको नेतृत्व आफ्नो दललाई दिन माग गर्दै आएको छ। अनि एमाले प्रतिवादमा उत्रिने गरेको छ। सत्ता सहयोगी दल नेपाली कांग्रेसका सांसदहरू प्राय मौन रहन्छन्। न उनीहरू एमालेको अडानतिर देखिन्छन् न त माओवादीको मागतिर।
सार्वजनिक लेखा समिति सभापति प्रतिपक्षी दलले पाउने संसदीय अभ्यास अनुसार माओवादीले ऋषिकेश पोखरेलको राजीनामा मागिरहेको थियो। हिजो एमालेले प्रतिपक्षी दलकै हैसियतमा लेखा समितिको सभापतिको नेतृत्व पाएको थियो।
माओवादीले संसदीय अभ्यास भन्दै लेखा समितिको सभापति माग्दा एमालेले भने हिजो माओवादी सत्ताधारी दल रहँदा पनि लेखा समितिको नेतृत्व गरेको भन्दै प्रतिवाद गर्दै आएको थियो।
यही बिचमा सभापति पोखरेलको श्रीमती सहकारीको रकम अपचलनमा परिन्। माओवादीले आफ्नो मागलाई थप अगाडि बढायो। पोखरेलकी श्रीमती अञ्जना श्री उमागौरी कृषि सहकारी संस्थाको १४ करोड अपचलनमा जोडिइन्।
यो सार्वजनिक भएसँगै पोखरेलले जब लेखा समितिको बैठक राखे उनको श्रीमतीको विषय उठ्न थाल्यो। लामो समय उनले बैठकसमेत राख्न सकेनन्।
प्रारम्भमा अञ्जनालाई प्रहरी अनुसन्धान बाहिरै राख्ने प्रयास भयो। एकातिर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहकारी ठगीमा पक्राउ पर्दा उता अञ्जना प्रहरीको अनुसन्धानको दायरामा समेत नपरेको भन्दै आलोचना सुरु भयो।
लाजैले प्रहरीले उनलाई पनि फरार प्रतिवादी बनाएर मुद्दा दायर गर्यो। अञ्जना लुसुक्क अदालतमा हाजिर भइन्। अनि सहजै १० लाख धरौटीमा रिहा भइन्। यी सबै घटनाक्रम सामान्य थिएनन्। यसमा कुनै न कुनै तहमा सत्ताको प्रभाव परेकै देखियो।
सत्ता सहयोगी दल नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नै पोखरेलको श्रीमतीको हकमा सत्ताधारी दलको सांसद भएकाले केही प्रिभिलेज भएको देखिएको स्विकारे।
श्रीमती धरौटीमा छुटेपछि पोखरेलले लेखा समितिको बैठक राख्न सुरु गरे। तर प्रमुख प्रतिपक्षी दलको माग बदलिएन। अनि प्रतिरक्षा गर्ने एमाले सांसदहरूको शैली पनि बदलिएन।
त्यसैको परिणाम मङ्गलवार बसेको सार्वजनिक लेखा समितिमा धम्क्याउनेदेखि वाद अनि प्रतिवादसम्मका दृश्य देखिए। माओवादी सांसदहरूले पोखरेलको राजीनामा मागेपछि एमाले सांसद तारा लामाले समितिको बैठक बस्यो कि सभापति पोखरेलको राजीनामा माग्ने गरेको भन्दै बैठकमा रिसाए।
उनले बैठकमा अब सभापति पोखरेलको राजीनामा मागे राम्रो नहुने भन्दै धम्क्याउने शैलीमा ‘अबदेखि यस्तो गरियो भने राम्रो हुँदैन’ भनेपछि बैठकको माहौल नै बदलियो।
माओवादी सांसद लेखनाथ दाहालले लामाको भाषाप्रति आपत्ति जनाए। उनले लामाको अब बोल्दा राम्रो हुँदैन भन्ने भाषामा आपत्ति जनाउँदै भने ‘बोल्यो भने कुस्ती खेल्नुहुन्छ? ठटाउनुहुन्छ?’
संसदीय समितिको बैठकको माहौल तात्दै गयो। दाहालले एमाले सांसद लामाको भाषा असंसदीय भएको भन्दै समितिको बैठकको रेकर्डबाट हटाउन माग गरेपछि एमाले सांसद योगेश भट्टराई प्रतिवादमा उत्रिए।
उनले लामाको भाषा संसदीय नभएको भन्दै बचाउ गरे। बिचबिचमा लामाले आफ्नो भनाइको बचाउ गरिरहे। दाहालले प्रतिवाद गरिरहे। योगेश मिसिइरहे।
भनाभन लामै समय चलेपछि मध्यस्थकर्ताको भूमिकामा देखिए कांग्रेस सांसद देवप्रकाश तिमिल्सना। उनले सार्वजनिक लेखा समितिको सभापति प्रमुख प्रतिपक्षीबाट हुने भनेर कानुनमै लेख्न सुझाव दिए।
‘अब कानुनमै प्रतिपक्षी जो हुन्छ लेखा समितिको सभापति त्यसकै हुने लेखौँ। घण्टा घण्टामा सरकार चेन्ज भए सभापति पनि घण्टा घण्टामा चेन्ज हुन्छ।’
माओवादी सांसद अमनलाल मोदीलाई कांग्रेस सांसद तिमिल्सिनाको सुझाव मन परे। उनले संसदीय समितिको नेतृत्व छान्ने बेलामा एमाले प्रतिपक्षमा रहेकाले नै सार्वजनिक लेखा समितिको सभापति पाएको सम्झाए। संसदीय समितिमा बोल्दा धम्क्याएको भन्दै उनले माओवादीको ३२ सिट छ भनेर नहेप्न भने।
भनाभन लम्बिएपछि एमाले सांसद गोकुल बास्कोटाले प्रवेश गरे। यस अगाडि सभापतिको राजीनामा माग्दा ‘दिने भए दिऊँ। एमालेले लेखा समिति सभापति छाड्छ, माओवादीले राष्ट्रिय सभा अध्यक्ष छाडोस्’ भन्ने गरेका बास्कोटा मङ्गलवारको बैठकमा भने समन्वयकारी भूमिकामा देखिँदै सुन्ने कान फरक परेको तर नधम्क्याएको भन्दै कुरा मिलाउने प्रयास गरे। तर कुरो मिलेन।
माघ ८, २०८१ मंगलबार २२:३८:४५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।