आगामी चुनाव देउवाको नेतृत्वमा हुन्छ : उपप्रधानमन्त्री सिंह
बागलुङ : उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले लोकतन्त्रलाई प्रहार गर्न चाहने तत्वहरू नेपाली कांग्रेसलाई कमजोर बनाउने प्रयासमा रहेको बताएका छन्।
मंगलबार नेपाली कांग्रेस बागलुङले आयोजना गरेको कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा उनले कांग्रेस कमजोर भए लोकतन्त्र कमजोर हुने बताए।
विगतमा जनताको गुमेको अधिकार नेपाली कांग्रेसले पुनःस्थापित गरेको भन्दै अहिले प्राप्त अधिकारको रक्षाका लागि सुदृढ र एकतावद्द कांग्रेस आवश्यक रहेकोमा उपप्रधानमन्त्री सिंहले जोड दिए।
उनले अहिले कांग्रेस र एमालेबीचको सहकार्य स्थिर सरकार होस् भन्ने नागरिकको चाहना र समयको मागअनुसार नै भएको पनि प्रष्ट पारे।
सिंहले सरकार ७ बुँदे सहमतिकै भावनाअनुसार अघि बढिरहेको भन्दै उनले सहमति अनुसार नै कांग्रेस- एमालेबीच सत्ता सहयात्रा अघि बढ्ने दाबी गरे।
‘गत चुनावपछि बनेका सरकारहरू लामो समय टिकेनन्। स्थिर सरकार बनोस् भन्ने चाहना अनुरूप नै वर्तमान सरकार बनेको हो। ७ बुँदे सहमतिअनुसार सरकार अघि बढ्छ। सहमतिअनुसार नै कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा चुनाव हुन्छ, उनले भने।
माघ ८, २०८१ मंगलबार २१:३९:३६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।