उकेरा टप फाइभ : चौथो अंगमा लेनिन बन्जाडेदेखि कर्णाली सरकारमा आएको हलचलसम्म
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङलाई भेट दिएनन्।धरानको खानेपानीको समस्या समाधानका रित्तो गाग्रीसहित आज सिंहदरबार पुगेका मेयर साम्पाङले खानेपानी मन्त्री प्रदीप यादव र अर्थमन्त्री विष्णु पौडेलसँग भेट गरेपछि प्रधानमन्त्री ओलीलाई पनि भेटेर अर्को पत्र बुझाउन चाहेका थिए। तर, उनले आज सिंहदरबारमा ओलीसँग भेटै पाएनन्। त्यसपछि उनले फेसबुकमा स्टाटस लेख्दै आफूलाई प्रधानमन्त्री ओलीले फेस गर्न नसकेको प्रतिक्रिया दिए।
उच्च अदालत पोखराले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहित ७ जनालाई धरौटीमा छाड्नुको आधार र कारण सहितको प्रतिवेदन पेस गर्न आदेश जारी गरेको छ। जिल्ला अदालत कास्कीको आदेशविरुद्ध उच्चमा परेको पुनरावलोकनमा सुनुवाइ गर्दै मङ्गलवार न्यायाधीश राजकुमार खतिवडाको इजलासले सूर्यदर्शन सहकारी ठगी मुद्दाका प्रतिवादी लामिछानेसहित ७ जनालाई धरौटीमा छाड्ने आदेशको ‘कैफियत प्रतिवेदन’ अदालतमा पेस गर्न आदेश दिएको हो।
राइड सेयरिङ सेवा प्रदायक कम्पनी इनड्राइभ प्रयोग गरेकी युवतीलाई यौन दुर्व्यवहार गरेको आरोपमा एक चालक पक्राउ परेका छन्। पक्राउ पर्नेमा चितवनको नारायणी नगरपालिका-४ का २५ वर्षीय प्रबिन बराल रहेका छन्। उनलाई मंगलबार काठमाडौंबाट पक्राउ गरिएको परिसरका प्रवक्ता नवराज अधिकारीले जानकारी दिए। ती युवतीलाई अनलाइनमार्फत यौन दुर्व्यवहारजन्य सन्देश पठाएको उनीमाथि आरोप छ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठनबाट अमेरिका बाहिरिने निर्णयमा हस्ताक्षर गरेका छन्। कार्यकारी निर्णयमा गरिएको हस्ताक्षर संसदले समेत उल्ट्याउन सक्दैन। यसको लागि सर्वोच्च अदालतमा कानूनी उपचार खोज्न सकिन्छ। ट्रम्पले लामो समयदेखि विश्व स्वास्थ्य संगठनको आलोचना गर्दै आएका थिए।
ट्रम्पले राष्ट्रपति बनेको पहिलो दिनमै रुस-युक्रेन युद्ध रोक्ने आफ्नो पुरानो दाबीमा प्रतिक्रिया जनाए। राष्ट्रपति कार्यालयमा पत्रकारहरूले ट्रम्पलाई यस विषयमा प्रश्न गर्दा उनले अहिले आफू राष्ट्रपति भएको आधा दिन मात्र भएको बताए। उनले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुससँग युद्धविराम सम्झौता गर्न चाहेकाे दाबी गरेका छन्।
अब आज उकेरामा प्रकाशित टप फाइभ समाचार
रिपोर्टिङ पनि नगर्ने, समाचार सम्पादन पनि नगर्ने, पत्रकार चाहिँ भनिराख्नुपर्ने? यो चाहिँ लाजकै कुरा हो है! सिक्ने हुटहुटी नहुने अनि सिकाउन जाँगर नहुने हो भने करियर सिफ्ट गर्ने बेला भयो भनेर बुझ्न जरुरी छ। प्रस्तुत छ, उकेराको नियमित स्तम्भ 'चौथो अंग'मा मिडियाको कन्टेन्ट एनलाइसिस गरिरहेका लेनिन बन्जाडेसँग नेपाली मिडियाबारे प्रजु पन्तले गरेको कुराकानी।
पूरा समाचार: चौथो अंग : नेपालमा प्रेस स्वतन्त्र छ, पत्रकार स्वतन्त्र छैनन्
एमालेका यामलाल कँडेलले कर्णालीको सत्ता सम्हालेको साढे पाँच महिना भयो। सत्ता सम्हालेपछिको पहिलो हिउँदे अधिवेशनमै उनको सत्ता धरमराउने संकेत देखिएको छ। सत्ताधारी दल नेपाली कांग्रेसका कर्णाली प्रदेशका संसदीय दलका नेता जीवनबहादुर शाहीले आफूसँग भएका सहमति कार्यान्वयन नभएको र भौतिक पूर्वाधार मन्त्रीले आफ्नो फोनको रेस्पोन्स नगरेको भन्दै सत्ताबाट बाहिरिने चेतावनी दिए।
पूरा समाचार: कर्णालीमा सत्ता टिकाउन यामलाललाई सात दिनको म्याद, ‘विद्रोह’को मुडमा जीवन
प्रतिनिधि सभाअन्तर्गतको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलमाथि प्रश्नमाथि प्रश्न उठाउँदा एमाले सांसदले माओवादी सांसदलाई समितिको बैठकमै धम्क्याए। मंगलबारको बैठकमा लेखा समितिमा सत्तापक्षको नेतृत्व हुँदा यसको पहिचान कायम हुन नसकेको भन्दै प्रतिपक्षी दल माओवादी केन्द्रका सांसदले मार्गप्रशस्त गर्न सभापति पोखरेललाई आग्रह गरेका थिए। उनीहरूले समिति सभापति पोखरेलकी श्रीमती अञ्जला कोइराला सहकारी ठगीमा तानिएको र स्वकीय सचिव भ्रष्टाचार प्रकरणमा पक्राउ परेको भन्दै नैतिकताका आधारमा समेत पद छाड्न माग गरे। त्यसपछि सत्तारूढ दल एमाले सांसद तारा लामाले आइन्दा सभापतिका विषयमा प्रश्न नउठाउन भन्दै धम्क्याए।
पूरा समाचार: ऋषिकेश पोखरेलमाथि प्रश्न गर्दा एमाले सांसदले बैठकमै माओवादीलाई धम्क्याए 'अबदेखि बोले राम्रो हुँदैन'
माथिको तस्बिरमा धरहरा निकै धमिलो देखियो ? काठमाडौँको कीर्तिपुरबाट दिउँसो ३ बजे खिच्दा देखिएको भिज्योल क्वालिटी जस्तो थियो त्यही देखिएको हो तस्बिरमा। अर्थात् तस्बिर खिच्ने क्रममा कुनै प्राविधिक गडबडीले यस्तो धमिलो भएको हैन, काठमाडौँ उपत्यकाको वायु प्रदूषणको कारण प्राकृतिक दृश्य नै यस्तै धमिलो हो। प्रस्तुत छ, उकेराले आज समेटेको फोटो कथा।
पूरा समाचार: धुलोले धुम्म काठमाडौं : सास नफेरी हुन्न, फेर्यो फोक्सो सद्दे रहन्न (फोटो कथा)
डोनाल्ड ट्रम्प अमेरिकाको ४७औं राष्ट्रपति बनेका छन्। उनले नेपाली समय अनुसार सोमबार राति राष्ट्रपति पदको सपथ लिएका हुन्। बराक ओबामा, जर्ज बुस, बिल क्लिन्टन जस्ता धेरै राष्ट्रिय नेता, व्यापारी, पूर्व अमेरिकी राष्ट्रपति ट्रम्पको सपथ ग्रहण समारोहमा सहभागी थिए। आफ्नो उद्घाटन सम्बोधनमा, ट्रम्पले आफ्नो नीति र प्रशासन अन्तर्गत अमेरिकाको ‘भविष्य कस्तो हुनेछ’ भन्नेबारे दृष्टिकोण सार्वजनिक गरे। यस्ता छन् डोनाल्ड ट्रम्पको उद्घाटन भाषणका महत्त्वपूर्ण कुराहरू:
पूरा समाचार: अमेरिकाको ४७औं राष्ट्रपति बने ट्रम्प : मेक्सिको सीमामा राष्ट्रिय संकटकाल घोषणा, तेल बेच्न ‘ड्रिल बेबी ड्रिल’को नारा
माघ ८, २०८१ मंगलबार २१:२५:११ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।