अध्यादेशले लगानी वृद्धिको वातावरण बनाएको छ : अध्यक्ष ढकाल
काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले हालै ल्याएको अध्यादेशले निजी क्षेत्रलाई लगानी वृद्धिको वातावरण बनाएका बताएका छन्।
बेनीमा मंगलबार आठौं म्याग्दी महोत्सवको समापन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले अध्यादेशबाट भएको कानुन परिवर्तनबाट निजी क्षेत्र उत्साही भएको बताए।
हालैको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति समक्ष सिफारिस गरेको सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्त्व, निजीकरण र आर्थिक तथा व्यवसायीक वातावरण सुधार, लगानी अभिवृद्धि र भूमिसम्बन्धी केही नेपाल ऐनलाई शंसोधन गर्न बनेको अध्यादेश जारी भएको थियो।
‘सरकारको तर्फबाट भएको कानुनको परिवर्तनले निजी क्षेत्रलाई लगानीका लागि प्रोत्साहन गरेको छ,’ अध्यक्ष ढकालले भने ‘निजी क्षेत्रको सकारात्मक सुझावलाई सरकारले ग्रहण गरेर छोटो समयमै कानुन परिवर्तन गरेर लगानी र सुरक्षाको वातावरण भएको सन्देश दिएको छ।’
नेपाल उद्योग वाणिज्य संघको अगुवाइमा प्रस्तावित कानुन निर्माणका क्रममा निजी क्षेत्रलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्राधिकार भन्दा बाहिर राख्न सफल भएको पनि अध्यक्ष ढकालले बताए।
कोरोना महामारी, रुस र युक्रेनको युद्ध तथा नेपालका विद्यमान ऐन कानुनका कारण संकुचनमा परेको आर्थिक क्षेत्रलाई चलायमान बनाउन निजी क्षेत्रको सुझाव अनुसार सरकारले अध्यादेश ल्याएको अध्यक्ष ढकालले प्रस्ट्याए।
पुष २८ देखि शुरू भएको महोत्सवमा स्थानीय, औद्योगिक उत्पादनका दुई सय ३० वटा व्यापारिक स्टल थिए। खेलकुद, लोकदोहोरी गीत, मौलिक गीत र नृत्य, कृषि मेला प्रदर्शनी, कलाकारहरूको गीत तथा नृत्य प्रस्तुति रहेको महोत्सवमा १० करोडको कारोबार भएको र एक लाख दर्शकले अवलोकन गरेको बताइएको छ।
माघ ८, २०८१ मंगलबार २०:४८:३५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।