जन्मेका आधारमा पाइने नागरिकता अन्त्य गर्ने प्रयासमा ट्रम्प

जन्मेका आधारमा पाइने नागरिकता अन्त्य गर्ने प्रयासमा ट्रम्प

एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले देशमा जन्मेका आधारमा पाइने नागरिकता अन्त्य गर्ने दिशामा कदम चालेका छन्।

ट्रम्पले संघीय एजेन्सीहरूलाई जसका आमाबाबु गैरकानुनी आप्रवासी छन् वा अस्थायी भिसामा अमेरिकामा बसिरहेका छन्, उनीहरूका सन्तानको जन्ममा आधारित नागरिकता स्वीकार नगर्न आदेश दिएका छन्।

यो आदेश पालना गर्न ३० दिनको समय दिइएको छ। तर, यो विषयमा कानुनी चुनौतीको सामना गर्नुपर्ने देखिन्छ।

जन्ममा आधारित नागरिकता अमेरिकी संविधानको १४औं संशोधनको लामो समयदेखिको व्याख्या हो। ट्रम्पको नयाँ कदमलाई त्यो व्याख्या अन्त्य गर्ने पहलका रूपमा हेरिएको छ।

शपथग्रहणलगत्तै अमेरिकी राष्ट्रपतिले आफ्नो ओभल अफिसमा कैयौँ आदेशमा हस्ताक्षर गरे। तीमध्ये एउटा यो आदेश हो। तीमध्ये करिब ८० वटा पूर्वराष्ट्रपति जो बाइडेनको आदेश रद्द गर्ने विषयमा थिए।

ट्रम्पले यसअघि आफ्नो भाषणमा सबै अवैध प्रवेश रोक्ने वाचा गरेका थिए। र, ‘लाखौँ आपराधिक विदेशीलाई’ सुपुर्दगी गर्ने बताएका थिए। 
-बीबीसी। 

माघ ८, २०८१ मंगलबार १९:५२:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।