ट्रम्पद्वारा कडा आप्रवासन नीति घोषणा, जन्मसिद्ध नागरिकता खारेजीको प्रयास
एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शपथग्रहणको पहिलो दिन नै आप्रवासनसम्बन्धी कडा नीतिहरू घोषणा गरे। ओभल कार्यालयमा आयोजित विशेष समारोहमा उनले जन्मसिद्ध नागरिकतासम्बन्धी नियम खारेज गर्नेदेखि सीमा सुरक्षासम्मका विभिन्न कार्यकारी आदेशमा हस्ताक्षर गरे।
उनले जन्मसिद्ध नागरिकताको व्यवस्था खारेज गर्ने प्रयास गरेका छन्। तर यो त्यति सहज देखिँदैन। सीमामा आपत्काल घोषणा गरेका छन्। मेक्सिकन कार्टेललाई आतङ्कवादी सङ्गठन घोषणा गर्ने आदेशमा हस्ताक्षर गरेका उनले बाइडेनका ८० भन्दा बढी निर्णय खारेज गरे।
तर ट्रम्पको यो कदमले कानुनी चुनौतीको सामना गर्नुपर्ने देखिन्छ। ट्रम्पको आदेशविरुद्ध नागरिक अधिकारवादी संस्था एसीएलयूले तत्कालै मुद्दा दायर गर्ने चेतावनी दिएको छ।
आप्रवासी अधिकारकर्मीहरूको कडा विरोध
‘यी निर्णयहरूले अमेरिकी मूल्यमान्यता र संविधानको उल्लङ्घन गर्छन्,’ एसीएलयूले एक विज्ञप्तिमार्फत भनेको छ। राष्ट्रिय आप्रवासन मञ्चकी अध्यक्ष जेनी मरेले यी निर्णयहरूले ‘परिवार विखण्डन र अर्थतन्त्र कमजोर’ बनाउने चेतावनी दिएकी छिन्।
डिजिटल प्रविधिमा प्रहार
ट्रम्प प्रशासनले आप्रवासीहरूले प्रयोग गर्दै आएको सीबीपी वन एप तत्काल बन्द गरेको छ। यो एपमार्फत आगामी तीन हप्तामा करिब ३० हजार आप्रवासीको अमेरिका प्रवेश तय भएको थियो। मेक्सिकोमा झन्डै २७ लाख आप्रवासी यही एपमार्फत अमेरिका प्रवेशको पर्खाइमा थिए।
‘भगवानले उनको हृदय छुन सकुन्’, मेक्सिकोको तिहुआना शहरमा सात महिनादेखि अमेरिका प्रवेश गर्न प्रतीक्षारत एक आप्रवासी महिला ओरालियाले भनिन्।
विज्ञहरूका अनुसार जन्मसिद्ध नागरिकता खारेज गर्न संविधान संशोधन आवश्यक पर्ने भएकाले यो प्रक्रिया निकै जटिल हुनेछ। यसका लागि कंग्रेसका दुवै सदनमा दुई-तिहाइ बहुमत चाहिन्छ।
राष्ट्रपति ट्रम्पले भने आफ्ना निर्णयहरूको बचाउ गर्दै ‘खतरा र आक्रमणबाट देशको रक्षा गर्नुभन्दा ठुलो जिम्मेवारी रहेको र यो बाहेक आफ्नो अरू केही नभएको’ दाबी गरेका छन्।
माघ ८, २०८१ मंगलबार १९:४३:४९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।