अपराधिक मामिलामा नेपालको भन्दा भारतको कानून कडा छ : मन्त्री चौरसिया
काठमाडौं : कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले नेपालको भन्दा भारतको कानून कडा भएको बताएका छन्।
मंगलबार कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उनले अपराधिक विषयमा भारतको कानून कडा भएको बताए।
उनले भने, ‘कानूनले सय वटा दोषी छुटे पनि एउटा निर्दोष पर्नु हुँदैन भन्छ। म भारतको बोर्डर नजिकैको मान्छे हुँ। भारतमा फरार अभियुक्तलाई, धरौटी बुझाउन नसकेको अभियुक्तलाई सरकारले, प्रहरीले, घरमा जति सामान छ त्यो सबै उठाएर लैजान्छ। नेपालको कानूनमा यो छैन। त्यसैले मुद्दा फैसला गर्न नै समस्या छ। भारतको कानून अपराधिक मामिलामा धेरै नै कडा छ।’
उनले परियोजन लाग्ने बित्तिकै सबै मान्छे दोषी र सबै निर्दोष हुन्छन् भन्ने नहुने बताए।
मन्त्री चौरसियाले नेपालको जुन न्याय दिने अदालत छ त्यसलाई सबैले उच्च मूल्यांकन गर्नुपर्ने बताए।
माघ ८, २०८१ मंगलबार १९:३६:०२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।