धरानबाट रित्तो ग्रागो लिएर आएका हर्क साम्पाङलाई प्रधानमन्त्री ओलीले भेटै दिएनन्
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङलाई भेट दिएनन्।
धरानको खानेपानीको समस्या समाधानका रित्तो गाग्रीसहित आज सिंहदरबार पुगेका मेयर साम्पाङले खानेपानी मन्त्री प्रदीप यादव र अर्थमन्त्री विष्णु पौडेलसँग भेट गरेपछि प्रधानमन्त्री ओलीलाई पनि भेटेर अर्को पत्र बुझाउन चाहेका थिए। तर, उनले आज सिंहदरबारमा ओलीसँग भेटै पाएनन्।
साम्पाङले प्रधानमन्त्री र स्वकीय सचिवसहितका सम्बन्धित अधिकारीले फोन नउठाइदिँदा समस्या भएको बताए।
उनले भने, ‘स्वकीय सचिवले फोन उठाइदिए र भेट्न टाइम मिलाइदिए हुन्थ्यो। मलाई त समस्या भयो भने सर्वसाधारणलाई के होला।’
प्रधानमन्त्री सचिवालयले भने आज प्रधानमन्त्रीको मेयर साम्पाङसँग भेटघाटको कार्यक्रम नै तय नभएकाले भेट हुन नसकेको बताएको छ।
त्यसअघि मंगलबार बिहान रित्तो गाग्री लिएर सिंहदरबार परिसर प्रवेश गर्न खोजेका उनलाई प्रहरीले रित्तो गाग्री खोसेर सिंहदरबारमा प्रवेश दिएको थियो।
माघ ८, २०८१ मंगलबार १८:०२:०२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।