'नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभल'मा ९८ चलचित्र प्रदर्शन हुने
काठमाडौं : ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभल-२०२५’ माघ १७ बाट काठमाडौंमा सुरू हुने भएको छ।
विश्वभरका सांस्कृतिक चलचित्रको प्रवर्द्धनका लागि महोत्सव हरेक वर्ष नेपालमा आयोजना हुँदै आएको छ। तीन दिन आयोजना हुने महोत्सवमा यस पटक ६० देशका चार सय भन्दा बढी चलचित्रको आवेदन परेको थियो।
ती चलचित्र मध्येबाट नेपाल सहित ४७ देशका ९८ वटा चलचित्रहरु छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभल-२०२५ मा प्रदर्शनको लागि चयन गरिएको छ।
महोत्सवमा लघु चलचित्रसँगै कथानक चलचित्र, वृत्तचित्र, एनिमेटेड चलचित्रलगायत महिला, बालबालिका, मानव अधिकारका चलचित्रहरु पनि प्रतिस्पर्धामा समावेश गरिएका छन्। दुई मिनेटदेखि साढे दुई घण्टासम्मको चलचित्र महोत्सवको लागि चयन भएको छ।
महोत्सवमा अन्तर्राष्ट्रिय र राष्ट्रिय जुरी चयन गरिएको छ। जसमा भारतबाट चलचित्र निर्देशक निपोन धौला, जर्मनी चलचित्रकर्मी फाविन मात्थियस र चलचित्रकर्मी इभिन बिराजी, बेलायतबाट चलचित्र लेखक तथा निर्देशक लुईसा प्रिटोलानी, क्यानडाबाट चलचित्र निर्देशक जुडी ग्लाड्स्टोन, इरानबाट अभिनेत्री, लेखक तथा निर्देशक तिमा टाघिजादेह, बहराईनबाट चलचित्र निर्माता निर्देशक एवं इभा दाउद र रशियाबाट चलचित्रकर्मी इरिना बेराजी रहेका छन्।
नेपालबाट निर्णायकको रुपमा संगीतकार तथा चलचित्र विकास बोर्डका पूर्व अध्यक्ष शम्भुजीत बाँसकोटा, अभिनेत्री मिथिला शर्मा, चलचित्र निर्देशक दीपेन्द्र के. खनाल, अभिनेता प्रदीप खड्का र टेलिभिजनकर्मी टिकाराम यात्री अभिनेत्री सुरक्षा पन्त, चलचित्र निर्माता एवं निर्देशक रौनक विक्रम कँडेल र निर्देशक दिनेश लिङ्देन रहेका छन्।
महोत्सवमा दक्षिण एशियाली मुलुकहरू भारत, बंगलादेश, पाकिस्तानसहित पूर्वी एसियाको ची जापान, थाइल्यान्ड, कोरिया, युएई, कतार, हङकङ, फिलिपिन्स, इन्डोनेसिया, भियतनाम, जस्ता देशका चलचित्रहरू चयन भएका छन्।
यस्तै, संयुक्त राज्य अमेरिका, क्यानडा, अस्ट्रेलिया, अर्जेन्टिना, बेलायत फ्रान्स, इटाली, आयरल्यान्ड, जर्मनी, रसिया, ट्यूनेशिया, पोर्चुगल, पोल्यान्ड, हंगेरी, ग्रिस, फिनल्या डेनमार्क, बुल्गेरिया, चेक रिपब्लिक, अस्ट्रियासहित विभिन्न युरोपियन मुलुकका चलचित्र यो महोत्सवम चयन भएका छन् यस्तै मोरक्को, इजिप्ट, जमैका, क्यामरुन, सर्भिया, दक्षिण अफ्रिकासहित विभिन्न अफ्रिकन देशका चलचित्र पनि यो महोत्सवमा फाइनलको लागि चयन गरिएको छ।
महोत्सवमा चलचित्र प्रदर्शनसँगै चलचित्रको विषयमा अन्तरक्रिया, मास्टर क्लास, कार्यशालाका साथै कला प्रदर्शनीसमेत रहेको छ। चलचित्रको उद्घाटन समारोह काठमाडौंको दरबारमार्ग स्थित क्युएस सिनेमा राइजिङ मल चलचित्र घरमा आयोजना गरिनेछ।
उद्घाटनपछि सोही चलचित्र घरमा दुई दिनसम्म नियमित रूपमा चलचित्र प्रदर्शनीका साथै चलचित्रका विविध विषयमा छलफल एवं अन्तरक्रिया गरिनेछ। त्यसपछि चलचित्र विकास बोर्डमा तीन दिनसम्म चलचित्र प्रदर्शनी, मास्टर क्लास र कला प्रदर्शनी आयोजनासहित बोर्डमै महोत्सवको समापन समारोह गरिनेछ।
महोत्सवमा चयन भएका चलचित्रहरूले उत्कृष्ट चलचित्र, निर्देशक, अभिनेता, अभिनेत्री, छायांकार लगायत उत्कृष्ट लघुचलचित्र, वृत्तचित्र, एनिमेटेड चलचित्र, महिला चलचित्र, बालबालिका चलचित्र, मानव अधिकारका चलचित्र जस्ता विभिन्न विधामा प्रतिस्पर्धा गर्नेछन्।
यी विभिन्न विधामा सर्वोत्कृष्ट भएका चलचित्र तथा कलाकार प्राविधिकलाई महोत्सवको समापन समारोहमा अवार्ड प्रदान गरिनेछ। विभिन्न फरक-फरक विधाका उत्कृष्ट १५ वटा राष्ट्रिय तथा १५ वटा अन्तराष्ट्रिय गरी ३० चलचित्रहरूलाई पुरस्कृत गरिनेछ।
माघ ८, २०८१ मंगलबार १७:४१:०४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।