धुलोले धुम्म काठमाडौं : सास नफेरी हुन्न, फेर्‍यो फोक्सो सद्दे रहन्न (फोटो कथा)

धुलोले धुम्म काठमाडौं : सास नफेरी हुन्न, फेर्‍यो फोक्सो सद्दे रहन्न (फोटो कथा)
काठमाडौँको कीर्तिपुरबाट दिउसो ३ बजे देखिएको धरहरा तथा आसपासको क्षेत्र।

काठमाडौँ : माथिको तस्बिरमा धरहरा निकै धमिलो देखियो ? काठमाडौँको कीर्तिपुरबाट दिउँसो ३ बजे खिच्दा  देखिएको भिज्योल क्वालिटी जस्तो थियो त्यही देखिएको हो तस्बिरमा। अर्थात् तस्बिर खिच्ने क्रममा कुनै प्राविधिक गडबडीले यस्तो धमिलो भएको हैन, काठमाडौँ उपत्यकाको वायु प्रदूषणको कारण प्राकृतिक दृश्य नै यस्तै धमिलो हो।

बिहान १० बजे काठमाडौंको बागबजारको दृष्य।चिसोपन हराउँदै गए पनि काठमाडौँ उपत्यकाको दृश्य अझै उस्तै धुम्म परेको छ। एक ठाउँको मात्र समस्या हो कि यो उपत्यकाकै समस्या हो? यो पहिल्याउन पुस २० देखि माघ ८ सम्म काठमाडौँ उपत्यकाको १३ स्थानबाट तस्बिर खिच्दा अधिकांश ठाउँको अवस्था यस्तै धमिलो देखियो। यो माथिको काठमाडौंको बागबजारको दृष्य पनि उस्तै धमिलै त छ।

लाँकुरी फेदीबाट बिहान ९:४५ मा देखिएको काठमाडौँ उपत्यका, पृष्ठभूमिमा देखिएको हिमाल।त्यसैले त काठमाडौँ उपत्यकामा नाक र मुख छोपिने मास्क अनि आँखा ढाक्ने चस्मा नलगाई घर बाहिर निस्कने हो भने आँखा रातो हुने, नाक पोल्ने, घाँटी खसखसाउने समस्या देखिहाल्छ। अग्ला वा होचा घरको झ्याल-ढोका केही समयका लागि खुल्ला राख्ने हो भने कोठाका सामान धुलोले छपक्कै छोप्छ।

काठमाडौँको पेप्सीकोला क्षेत्रबाट बिहान १० बजे देखिएको गोठाटार।यसो कोठाभित्रको धुलो अनि यो धुम्म परेको धमिलो तस्बिर हेरेर आफ्नो फोक्सोसँग दाँजौँ त! हो, काठमाडौँ उपत्यकाको वायु प्रदूषणका कारण हाम्रो फोक्सोको हालत पनि यस्तै त हो।

काठमाडौँको काँडाघारीबाट बिहान ७:५० मा देखिएको भक्तपुरको लोकन्थली, काठमाडौँको जडीबुटी र ललितपुर तर्फको केही भागअहिलेकै अवस्थामा काठमाडौँको हावामा सास फेर्नु भनेको दिनमा १.६ खिल्ली, हप्तामा ११.२ खिल्ली र महिनामा ४८ खिल्ली चुरोट पिउनु जत्तिकै हानिकारक छ। त्यसको प्रभाव यहाँ बसोबास गर्नेहरूको स्वास्थ्यमा प्रत्यक्ष देखिन्छ। त्यसैको प्रभावले नेपाल फोक्सोको दीर्घकालीन रोग सीओपीडी बढी हुने देशको सूचीमा छ भने सीओपीडी हुने कारणमध्ये ६६ प्रतिशत वायु प्रदूषण देखिन्छ।

 बिहान १०: ३० मा ललितपुरको बालकुमारी-च्यासल बागमती कोरिडोरको दृश्य।वातावरण विभागको वेबसाइटमा देखिने दैनिक लाइभ तथ्याङ्क हेर्ने हो भने काठमाडौँ उपत्यकाका रत्नपार्क, शंखपार्क, रवि भवन, महाराजगन्ज, खुमलटार, झम्सिखेल, भैसेपाटी, कीर्तिपुर, सल्लाघारी, सुर्यविनायक क्षेत्रमा वायु प्रदूषण मात्रा बढी छ। काठमाडौँ वरिपरिका कुनै पनि अग्लो स्थानबाट हेर्ने हो भने पनि उपत्यकामा कुन तहको बायु प्रदूषण छ भन्ने प्रस्ट देखिन्छ।

 काठमाडौँको सडकमा मध्यदिनमा मास्क लगाएर डिउटीमा खटिएका ट्राफिक प्रहरी।नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी) का प्रमुख अनुसन्धान अधिकृत डा. मेघनाथ धिमालका अनुसार काठमाडौँ उपत्यकामा वायु प्रदूषण बढिरहनुको मुख्य कारण यातायातका साधनहरूबाट हुने धुवाँको उत्सर्जन र सडकहरूको कमजोर व्यवस्थापन हो।

दिउसो १२:३० मा काठमाडौँं गोङ्गबुको नयाँ बसपार्क क्षेत्रको अवस्था।बढ्दो प्रदूषणबाट बच्न अत्यावश्यक काम बाहेक बाहिर ननिस्कने र निस्कनै पर्यो भने स्तरीय मास्कको प्रयोग गर्ने उनको सुझाव छ।

निरन्तर बढ्दै छ प्रदूषण

वायु प्रदूषण मापन गर्ने अन्तर्राष्ट्रिय संस्था एयर क्वालिटी इन्डेक्स (एक्युआइ) को तथ्याङ्क अनुसार केही वर्षदेखि काठमाडौँ उपत्यकाको प्रदूषणस्तर निरन्तर बढ्दै गएको देखिन्छ। कहिलेकाहीँ त प्रदूषणको ग्राफ बढेर काठमाडौँ विश्वकै १ नम्बर प्रदूषित शहरमा समेत सूचीकृत हुन पुग्छ।

दिउसो ३ : ४५ मा ललितपुरको लामाटारबाट देखिएको ललितपुर तथा काठमाडौँको केही भाग। कै तथ्याङ्क हेर्ने हो भने माघ १ मा काठमाडौँको प्रदूषणको सूचक १ सय २१ माइक्रोग्राम प्रति घन मिटर पुगेको थियो। माघ २ देखि ६ सम्म क्रमशः १ सय १०, १ सय २१, १ सय २४, १ सय २१, १ सय ४ र त्यसको एक सातापछि ७  गते प्रदूषणको सूचक १ सय ७ पुगेको थियो।

बिहान १० बजे ललितपुरको खुमलटार-हात्तीवन सडकको दृष्य।एक हप्ताको अवस्थालाई मात्र हेर्ने हो भने पनि काठमाडौँको उपत्यकाको हावामा रहेको प्रदूषणको मात्रा संवेदनशील समूहको लागि अति जोखिमपूर्ण बिन्दुमा रहेको देखिन्छ।

काठमाडौँको कीर्तिपुरबाट दिउसो ३ बजे देखिएको स्वयम्भू-सीतापाइला क्षेत्रको अवस्था। क्वालिटी इन्डेक्सका अनुसार एक्यूआई शून्य देखि ५० माइक्रोग्रामसम्म हुनु राम्रो हो, ५१ देखि एक सयसम्म ठिकै हो भने १ सय १ देखि १ सय ५० सम्म संवेदनशील समूहको लागि अस्वस्थकर। १ सय ५१ देखि २ सयसम्म पुगेमा सबै उमेर समूहका लागि अस्वस्थकर हो।

हावाको गुणस्तर २ सय १ देखि ३ सय पुग्नु भनेको जोखिमपूर्ण अवस्था हो। ३ सय १ देखि ४ सयसम्म घातक हो भने ४ सय १ देखि ५ सयसम्म पुग्नु अति नै घातक अवस्था हो।

साँझ ५ : ३० मा देखिएको भक्तपुरको पाटी भन्ज्याङको एउटा गाउँ र प्रदुषणले ढाकिएको भक्तपुरकै शहरी क्षेत्र (बायाँ तर्फ)सन् २०२१ देखि २०२५ को जनवरी २१ सम्मको उपत्यकाको वायु प्रदूषणको ग्राफ हेर्ने हो भने १ सय ३७, १ सय ४३, १ सय १८, १ सय ८ र १ सय २१ माइक्रोग्राम प्रति घन मिटर रहेको देखिन्छ। सन् २०२१ देखि जनवरी २१ सम्म महिनाको हिसाबले हेर्ने हो भने २०२३ को जनवरीमा १ सय ६९ माइक्रोग्राम प्रति घन मिटर र २०२४ को अगस्त महिनामा ५२ माइक्रोग्राम प्रति घन मिटर रहेको देखिन्छ।

लाँकुरी फेदीबाट राती ८ : ४५ तिर देखिएको काठमाडौँ।राष्ट्रिय क्षयरोग केन्द्रका प्रमुख तथा छातिरोग विशेषज्ञ डा प्रज्वल श्रेष्ठका अनुसार वायु प्रदूषणले नवजात शिशु एवम् बालबालिका, गर्भवती महिला, दीर्घ रोगीहरू तथा ज्येष्ठ नागरिकहरू बढी जोखिममा छन्। त्यस्तै वायु प्रदूषणले एलर्जी, रुघाखोकी, पिनास, सीओपीडी, हृदयाघात, क्यान्सर जस्ता स्वास्थ्य समस्याहरू निम्त्याउन सक्ने उनले जानकारी दिए।

माघ ८, २०८१ मंगलबार १७:३१:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।