नक्कली शैक्षिक प्रमाणपत्र बनाएर अध्यापन गराएको आरोपमा काभ्रेका शिक्षक पक्राउ
काठमाडौं : नक्कली शैक्षिक प्रमाणपत्र बनाएर अध्यापन गराएको आरोपमा एक शिक्षक पक्राउ परेका छन्। पक्राउ पर्नेमा धुलिखेल नगरपालिका वडा नम्बर-५ घर भएका ४८ वर्षीय विकास श्रेष्ठ छन्।
त्रिभुवन विश्वविद्यालयबाट जारी भएको स्नातक र स्नातकोत्तर तहको नक्कली प्रमाणपत्रसहित उनी पक्राउ परेका हुन्।
उनले विगत १४ वर्षदेखि काभ्रेकै बनेपा नगरपालिका-६ बुडोलमा रहेको काभ्रे उच्च माविमा अध्यापन गराउँदै आएको खुलेको छ।
ब्याचलर डिग्री इन बिजनेस स्टडिज र मास्टर डिग्री इन बिजनेस स्टडिजको नक्कली ट्रान्सक्रिप्ट लिएको सूचनाका आधारमा त्रिभुवन विश्वविद्यालयको अभिलेखमा हेर्दा सूचना सत्य भएको जानकारी भएपछि उनलाई पक्राउ गरिएको हो।
उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यका अनुसार पक्राउ परेका श्रेष्ठले २०७० सालमा प्राथमिक तहमा अध्यापनरत फर्जी कागजात बनाएको प्रहरीसँग स्वीकार गरेका छन्।
उनीविरुद्ध सरकारी कागजात कीर्तेको कसुरमा कारबाही हुने प्रहरीले जनाएको छ।
माघ ८, २०८१ मंगलबार १६:१७:३८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।