ऋषिकेश पोखरेलमाथि प्रश्न गर्दा एमाले सांसदले बैठकमै माओवादीलाई धम्क्याए 'अबदेखि बोले राम्रो हुँदैन'
काठमाडौं : प्रतिनिधि सभाअन्तर्गतको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलमाथि प्रश्नमाथि प्रश्न उठाउँदा एमाले सांसदले माओवादी सांसदलाई समितिको बैठकमै धम्क्याए।
मंगलबारको बैठकमा लेखा समितिमा सत्तापक्षको नेतृत्व हुँदा यसको पहिचान कायम हुन नसकेको भन्दै प्रतिपक्षी दल माओवादी केन्द्रका सांसदले मार्गप्रशस्त गर्न सभापति पोखरेललाई आग्रह गरेका थिए। उनीहरूले समिति सभापति पोखरेलकी श्रीमती अञ्जला कोइराला सहकारी ठगीमा तानिएको र स्वकीय सचिव भ्रष्टाचार प्रकरणमा पक्राउ परेको भन्दै नैतिकताका आधारमा समेत पद छाड्न माग गरे।
त्यसपछि सत्तारूढ दल एमाले सांसद तारा लामाले आइन्दा सभापतिका विषयमा प्रश्न नउठाउन भन्दै धम्क्याए। अनौपचारिक कुरामा अँगालो मारेर हिँड्ने तर बैठकमा सधैं सभापतिलाई पेल्ने काम भएको भन्दै अबदेखि बोले राम्रो नहुने उनको धम्की रह्यो।
'अनौपचारिक कुरामा अँगालो मारेर हिँड्ने। सधैं सभापतिलाई पेलेको छ। एजेन्डामा बहस हुँदैन। सधैं यो बोल्ने भए, अबदेखि बोले राम्रो हुँदैन, लामाले भनेका थिए।
त्यसपछि माओवादीका सांसद लेखनाथ दाहालले ‘के राम्रो हुँदैन?’ भनेर प्रतिवाद गरे।
'के राम्रो हुँदैन भनेको? कुस्ती खेल्न भनेको हो? यो असंसदीय भाषा भयो, रेकर्डबाट हटाउनुहोस्’, दाहालको माग थियो।
तर, दाहाललाई पनि उसैगरी धम्क्याए लामाले। लामाले प्रतिप्रश्न गरे, ‘किन हटाउने? बोल्छु त। मैले कसैलाई इङ्गित गरेको छ र? आफैं अनेक काम गरेर आउने?’
लगत्तै एमाले सांसदलाई साथ दिन उभिए एमालेका सचिवसमेत रहेका योगेश भट्टराई। 'के असंसदीय भयो?, योगेशले प्रश्न गरे।
जवाफमा दाहालले भने, 'समितिमा बोलिएको भाषा असंसदीय भयो, हटाउनुपर्छ।'
योगेशको आड अनि त्यसमा दाहालको जवाफ सुनेपछि लामाले फेरि धम्क्याए।
'भाइरल हुन बोल्ने? ल जाऊँ प्रचण्डजीकोमा डेलिगेसन, म आफैं जान्छु, दाहाललाई धम्क्याउँदै लामाले भने, हिजो आफैं बनाएको, आज प्रश्न उठाउने? एजेन्डामा बहस छैन, करा’को छ, सभापतिलाई प्रश्न उठाएको छ।'
अन्य सांसदसहित यो सबै सुनिरहेका माओवादी सांसद अमनलाल मोदी बल्ल बोले। उनले सत्ताको धम्की दिएको भन्दै आपत्ति जनाए।
उनले भने, 'सत्ताको भन्दैमा धम्की दिने? खोजेको हो भन्ने? धम्की दिन मिल्छ? कुस्ती खेल्न आउने? असंसदीय रूपमा यस्तो कुरा बहुमतले पेल्न मिल्छ? यस्तो कुरा किमार्थ स्वीकार गर्न सकिँदैन। संसद्मा लगाम लगाउन पाइँदैन।'
माघ ८, २०८१ मंगलबार १५:३३:०९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।