धरानको खानेपानीका लागि यसैवर्ष टेन्डर हुने मन्त्री यादवको प्रतिबद्धता
काठमाडौं : खानेपानी मन्त्री प्रदीप यादवले धरानको खानेपानी समस्याका लागि यस वर्षभित्रै टेण्डर हुने प्रतिबद्धता व्यक्त गरेका छन्।
रित्तो गाग्री लिएर सिंहदरबार पुगेका धरान उप-महानगरपालिकाका नगर प्रमुख हर्कराज राई (हर्क साम्पाङ)सँगको भेटमा मन्त्री यादवले खानेपानीको समस्या समाधानका लागि एकीकृत खानेपानी आयोजना अन्तर्गत एसियाली विकास बैंकको ऋण सहयोगमा यस वर्षभित्रै टेण्डर आह्वान गर्ने प्रतिबद्धता जनाएका हुन्।
खानेपानी समस्या समाधानका लागि आवश्यक जग्गा प्राप्तिको जिम्मा धरान उप-महानगरपालिकाले लिने मन्त्री यादवले सामाजिक सञ्जालमार्फत जानकारी दिए।
खानेपानी व्यवस्थापनका लागि टेण्डर आह्वान गरिएको सूचना सहितको पत्र धरानवासीलाई लिएर जाने प्रतिबद्धता व्यक्त गर्दै मन्त्री यादवले खानेपानीको योजनाका लागि अन्यत्र नजान समेत आग्रह गरे।
धरानको खानेपानीको समस्या समाधानका रित्तो गाग्रीसहित सिंहदरबार पुगेका मेयर राईको रित्तो गाग्री प्रहरीले खोसेर उनलाई प्रवेश दिइएको थियो।
खानेपानी मन्त्रालयमा छलफलपछि उनी अर्थ मन्त्रालय गएका थिए।
माघ ८, २०८१ मंगलबार १४:०२:१८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।