टिकटकमाथिको प्रतिबन्ध ७५ दिन ढिलाइ गर्ने आदेशमा ट्रम्पको हस्ताक्षर

टिकटकमाथिको प्रतिबन्ध ७५ दिन ढिलाइ गर्ने आदेशमा ट्रम्पको हस्ताक्षर

एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टिकटकमाथिको प्रतिबन्धमा ७५ दिन ढिलाइ गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन्।

संसदमा दुई दलले सहमति जनाएर राष्ट्रपति जो बाइडेनले हस्ताक्षर गरेर कानूनको रुपमा लागू भइसकेको अवस्थामा ट्रम्पले टिकटकमाथिको प्रतिबन्ध ७५ दिनलाई ढिलाइ गर्ने आदेशमा हस्ताक्षर गरेका हुन्।

कानून अनुसार १९ जनवरीदेखि अमेरिकामा टिकटक प्रतिबन्ध हुनुपर्दथ्यो वा कुनै अमेरिकी कम्पनी वा व्यक्तिलाई बेच्नुपर्दथ्यो।

यसअघि ट्रमपले सामाजिक सञ्जाल ट्रुथमा सोमबार आफूले एक कार्यकारी आदेशमा हस्ताक्षर गरेर टिकटकमाथि प्रतिबन्ध लाग्ने कानून लागू नगर्ने बताएका थिए।

यसकारण शनिबार रातिदेखि आइतबारसम्म १२ घण्टा बन्द भएको टिकटक आइतबार अपरान्हबाट अमेरिकामा पुनः चल्न थलेको छ।

ओभल अफिसमा पत्रकारहरुसँग कुरा गर्दै ट्रम्पले टिकटकमाथिको आफ्नो धारणा बदलिएको बताएका छन्। आफूले टिकटक प्रयोग गर्न चाहेकाले टिकटकमाथिको प्रतिबन्ध हटाएको उल्लेख गरेका छन्।

उनले भने, ‘हामीसँग टिकटकभन्दा ठूला समस्या पनि छन्।’ 

माघ ८, २०८१ मंगलबार ०८:२१:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।