हिरो अवतारका सलोनलाई बाबु अवतारमा दर्शकले सहज लेलान् !
काठमाडौँ : बाउ-छोराको सम्बन्धमाथि बनेको फिल्म पूर्णबहादुरको सारङ्गीले नेपाली फिल्म बजार मजाले पिट्यो। अभिनय गर्ने कलाकार गतिलो भयो अनि दृष्य भाषामा कथा भन्ने ज्ञान भयो भने सुपरस्टार खोज्दै भौँतारिनु पर्दैन भन्ने उदाहरण नै यही फिल्म हो।
ढङ्ग नपूर्याएर कार्साङ जस्तो बनायो भने त उही हो पारा, यदी सम्बन्धमा आधारित कथा पनि ढङ्ग पूर्याएर भन्न सक्यो भने दर्शकले रुचाउँछन् भन्ने चैँ पुष्टि भइसक्यो।
फागुनको २ मा रिलिज हुने फिल्म ‘रंगी’ को जति प्रचार सामग्री र गीत आएका छन् त्यसले यो बाबु-छोरीको सम्बन्धमा केन्द्रित कथामा बनेको फिल्म हो भन्ने देखाइसक्यो।
कथाको प्लट भिन्न हुनसक्छ तर फिल्मको कथाको केन्द्र सम्बन्ध नै हो। सोमबार सार्वजनिक भएको दोस्रो गीत ‘तिम्रै संसारमा’ ले त झन् फिल्मको कथालाई अनुमानयोग्य नै बनायो।
फिल्मको गीत सलोन बस्नेत र बाल कलाकारमै बढी केन्द्रित छ। नम्रता श्रेष्ठ पनि देखिएकी छिन् तर उनमा फोकस छैन गीतको भिडियो। कारण गीतको थिम नै बाबु र छोरीको सम्बन्धमाथि छ। त्यसैले बाबु र छोरीको क्यारेक्टरमा भिडियो फोकस हुनु स्वाभाविकै हो।
जुन रूपमा गीतमा बाबु-छोरीको सम्बन्ध देखाउन खोजिएको छ गीत त्यो रूपमा क्याची भने सुनिएन। म्युजिक बिट अलि स्लो भएको अनुभव हुन्छ गीत सुन्दा। अनि सलोनको अभिनयमा पनि बाबुको फ्लेवर अलि कमजोर देखिन्छ। सायद उनको चकलेटी अभिनयको छापका कारण हो कि! बाल कलाकारको अभिनय ठिकै छ।
सान्भी इन्टरटेन्मेन्ट प्रालिको ब्यानरमा बनेको फिल्म फिल्ममा सक्षम सुवेदी,करिश्मा केसी बस्नेत र अनिष गौतमको लगानी छ।
फिल्मको निर्देशन सुरेश न्यौपानेले गरेका हुन्। फिल्ममा सलोन, नम्रतासँगै, दिलीप रायमाझी, आयुषी, उत्तम केसी, सुमिन गुरुङ र विशाल पहारीको अभिनय छ।
माघ ७, २०८१ सोमबार २२:३३:२१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।