इन्ड्राइभ र पठाओले ट्याक्सीको आम्दानी घटे पनि ट्राफिकले दु:ख दिन छाड्दा खुसी छन् नवराज
नवराज पन्त, पेशाले ट्याक्सी चालक। काठमाडौँलाई कर्मथलो बनाएका उनले ट्याक्सी चलाएकै २० वर्ष भयो। यो बिचमा उनले सशस्त्र प्रहरी बलदेखि संस्थानमा समेत काम गरे।
बाध्यताले सशस्त्र प्रहरीको जागिर छोडे। संस्थानमा पनि लामो समय टिकेनन् उनी। अनि ट्याक्सी चलाउन सुरु गरे।
यो पेशामा कमाई राम्रो भएको बताउँछन् उनी। त्यसैको कमाइले उनले काठमाडौँमा २ छोराको पढाई र पारिवारिक खर्च धानिरहेका छन्। रमाइरहेका छन्।
‘मिहेनत गर्नेलाई अहिले पनि ट्याक्सी चलाउनु राम्रै काम हो। २५-३० हजारमा प्राइभेट काम गर्नु भन्दा यही ठिक,’ उनले भने ‘आफ्नो काममा जति खट्यो त्यति पैसा आफैलाई हुने पेशा हो यो।’
उनी बिदेशिनु भन्दा नेपालमा ट्याक्सी चलाउनु नै राम्रो काम भएको बताउँछन्। बिदेसिएर अनेक दुख कष्ट गर्नुभन्दा आफ्नै देशमा महिनाको ४०-५० हजार सहजै कमाइ हुने उनले बताए।
पछिल्लो समय भाडाको सवारीमा पनि नयाँ प्रविधि भित्रिएको छ। सडकमा ट्याक्सी कुरेर बस्ने यात्रुभन्दा अहिले इनड्राइभ, पठाओबाट भाडाको साधन खोज्ने ग्राहकहरू बढेका छन्।
अहिले त चार पांग्रेमात्र हैन, दुई पांग्रे सवारी साधन पनि भाडामा प्रयोग भइरहेको छ। यसले केही कमाई घटे पनि उनलाई दुख लागेको रहेनछ। उनी बजार प्रतिस्पर्धी हुनुपर्ने पक्षमै देखिए।
‘अहिले विभिन्न एपहरूबाट मान्छे बोक्ने प्रविधिहरू आयो। यसले बजारलाई प्रतिस्पर्धी बनाएको छ। ग्राहकलाई सहज र सजिलो हुन्छ। यस्तो हुनै पर्छ। सय रुपैयाँमा हुने काम किन ३ सय तिर्नु’ उनले भने।
विभिन्न एपबाट यात्रु आउने भएकाले अहिले ट्राफिकबाट हुने दुख कम भएको उनको अनुभव छ। मिटरमा यात्रु बोक्दा विभिन्न बहानामा ट्राफिकले दुख दिने विगत सम्झँदै उनले अहिले एपमा जति देखाउँछ त्यसैको आधारमा जाँदा सहज हुने गरेको बताए।
‘पहिला मिटरको व्यवस्था थियो। त्यसमा पनि ट्राफिकले पैसा लिने बहाना हुन्थ्यो। तर अहिले त्यस्तो छैन। ग्राहक र चालकबीचमा एपमै पैसा तोकेको हुन्छ। त्यो भनेको ट्राफिकहरूलाई गाह्रो छ। हाम्रो कमाइ त घटेको छ तर अलि व्यवस्थित भएको पनि छ।’
भागेर काठमाडौँ
स्थायी घर काभ्रेका नवराज दुधे बालक हुँदै बुवाको मृत्यु भयो। उनलाई बुवाको अनुहार कस्तो थियो भन्ने पनि सम्झना रैनछ।
सानै उमेरमा बुवाको मृत्यु भएपछि नवराजका दुई दाजुभाइको जिम्मेवारी आमामा आयो। आर्थिक अवस्था सामान्य रहेकोले उनलाई घरमा बस्न मन लागेन र भागेर काठमाडौँ आए, २०४० सालमा।
काठमाडौँमा आफन्त कोही थिएनन्। त्यसैले उनी अरूको घरमा काम गर्न बसे, पढे। घरको सबै काम सकेर साँझमा पढाई हुने नन्दीरात्रीमा पढ्न थाले। त्यहाँ उनले १० कक्षासम्म पढे। त्यसपछि पढाइलाई अगाडी बढाउन पाएनन्।
‘१० कक्षासम्म पढे। त्यसपछि पढ्न सकिन। बिहानभरि घरको काम गर्यो, बेलुका नन्दीरात्रीमा पढ्न जान्थेँ। अहिलेको जसरी पढ्न पाएको भए ट्याक्सी चलाएर बस्दैनथेँ होला’ उनले भने ‘यो भन्दा पनि राम्रो जागिर हुन्थ्यो कि। अहिले गरेको कामप्रति पनि ग्लानि छैन। तर पनि पढ्न पाएको भए अझै राम्रो जागिर पाउँथे कि भन्ने लाग्छ।’
१० कक्षापछि उनी कामको खोजीमा लागे। त्यसैबिच उनले कालिकास्थान नजिकै प्राइभेट जागिर पाए। तर त्यसमा पनि उनलाई चित्त बुझेन। सरकारी जागिरको खोजीमा लागे।
सशस्त्रको जागिर १ वर्ष पनि टिकेन
२०५५ तिर सशस्त्रमा भर्ना खुल्यो। उनी छनौट पनि भए। उनले सवारी चलाउन सिकिसकेका थिए। त्यहाँ चालकमै छानिएका थिए उनी।
तर उनले १ सशस्त्रमा एक वर्ष पनि टिकेनन्। कारण, माओवादी सशस्त्र द्वन्द्व। माओवादीले सशस्त्र सङ्घर्ष सुरु गरेपछि आमाले ज्यानको भर हुन्न भनेर जागिर छाड्न कर गरेको गर्यै गरेपछि उनले पनि छाडे।
‘द्धन्द्धकालमा जागिर खाएको थिए। १५ हजार तलब थियो। त्यो समयमा १५ हजार भनेको राम्रो पैसा थियो। एक दिन गाउँकै दाइले मेरो दाइलाई नवराजले सशस्त्रको जागिर खायो भनेछन्। त्यसपछि त आमाले जागिर छोड्न कर गर्नुभयो। अनि मैले जोडिदिए। १ वर्ष पनि काम गरिन।’
शस्त्रको जागिर छोडेपछि संस्थानमा सरकारी जागिर पाए। त्यो १८ महिना मात्रै काम गरे। संस्थानको काम छाडेको चैँ घरपरिवार चलाउन गाह्रो भएर रैछ।
‘संस्थानमा १८ महिना जागिर गरेँ। त्यति नै बेला विहावारी भयो। त्यति पैसाले परिवार पाल्न सकिँदैन भनेर छोडिदिए’ उनले भने।
... अनि ट्याक्सी चलाउन लागे
२०६१। सबैतिर काम छाडेपछि उनले अब गाडी चलाउने सुर चल्यो। सुरुमा ४ लाखमा ट्याक्सी किनेर काम सुरु गरे। उनलाई यो पेशा फाप्यो। पाँच वटासम्म ट्याक्सी पूर्याएका थिए उनले। तर पुराना साथीहरूले छोडेपछि उनले अरू ट्याक्सी बेचिदिए।
‘५ वटासम्म ट्याक्सी किनेको थिए। पहिलेका साथीहरूले काम छोड्दै गए। भरोसा लाग्नेहरूले काम छोड्दै गएपछि ट्याक्सी बेचेँ। यो अहिले चलाइराखेको ट्याक्सी किनेको ७ वर्ष भयो। जतनले चलाएको छु’ उनले भने।
अहिले यही ट्याक्सीको आम्दानीले नवराजले दुई छोरालाई महिनाकै ८० हजार पर्ने स्कुलमा पढाएका छन्। एउटै ट्यक्सीको आम्दानीले उनलाई पुगेको छ।
‘५० हजार जति कमाउन युवाहरू अरूको देशमा जान्छन्। आफ्नै हातमा सिप भए नेपालमै राम्रो कमाई हुन्छ। अब अरूले यहाँ जा, उहाँ जा पनि भन्नु पर्दैन,’ उनले भने ‘अब हेर्नु न यहाँ आएर हामीले चिया खायौँ। केही ढिलो छैन नि। आफ्नै काम हो क्यार।’
नवराज अहिले नै कामबाट बिदा लिने सोचमा छैनन्। सरकारले जहिलेसम्म लाइसेन्स रिन्यु गरिदिन्छ त्यति बेलासम्म काम गर्ने उनको सोच छ।
‘म सानैदेखि गाउँबाट काठमाडौँ आएको भएर होला मलाई घर जान मन लाग्दैन। पछिल्लो समय भूकम्पको बेला घर गएको थिए,’ उनले भने ‘रिटायर जीवन खेती किसानी गरेर बस्ने सोच हुन्छ कसैको। तर मेरो त्यस्तो योजना छैन। सरकारले जबसम्म मेरो लाइसेन्स रिन्यु गरिदिन्छ, तबसम्म यही चलाएर बस्छु।’
माघ ७, २०८१ सोमबार २१:५९:०६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।