अभया, मिलन र राजेशपायलपछि ‘द भ्वाइस अफ नेपाल’को छैटौँ सिजनमा बजरलाई खेमको किक

अभया, मिलन र राजेशपायलपछि ‘द भ्वाइस अफ नेपाल’को छैटौँ सिजनमा बजरलाई खेमको किक

काठमाडौं : ‘सोचे झैं जीन्दगी रैनछ’देखि अहिले भाइरल गीत ‘ढले ढले ढले’सम्म आइपुग्दा सर्जक खेम सेन्चुरीको चर्चा उक्लिदो रूपमा छ। यिनै गीतहरूले स्टेजदेखि स्टुडियोसम्म व्यस्त हुँदै आएका उनै खेम यतिबेला टेलिभिजन गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ सिजन ६ को कोचमा रुपमा दर्शकमाझ आएका छन्। जसको दुई वटा एपिसोड सार्वजनिक भइसकेको छ। 

अन्तराष्ट्रिय फ्रेञ्चाइज यस शोमा कोचले आफ्नो टिममा राम्रो प्रतियोगी तान्नका लागि अनेक भनेर फकाउने गर्छन्। त्यतिमात्र हैन, तछाड-मछाड नै पनि गरेको देखिन्छ। तर, यो रियालिटी शोमा कोचले गर्ने केही हर्कतहरू विगतदेखि अहिलेसम्म हेर्दा विवादितसमेत बनेका छन्। यस्तै भयो, सिजन ६ को दोस्रो एपिसोडमा पनि। कोच खेमले कुर्सी घुमाउँदा उठेर खुट्टाले किक हानेको दृश्य अहिले चर्चामा छ। 

अरू बेला रमाइलो गर्दै कोचको जिम्मेवारी सम्हालिरहेका खेम, जब प्रतिस्पर्धी इन्द्रकला राईले ‘यस्तो पनि हुँदो रहेछ जीन्दगीमा कहिले कहिले’ गाइसकेपछि बढी नै बोल्न थाल्छन्। इन्द्रकलाले भत्तेमान राजभण्डारीको गीत ‘यस्तो पनि हुँदो रहेछ’ गाएपछि सुरुमा कोच उदय सोताङले कुर्सी घुमाउँछन्। त्यसपछि गायिका मेलिना राईले कुर्सी घुमाउँछिन्। 

मेलिनाले कुर्सी घुमाएलगत्तै अर्का कोच खेम जुरुक्कै कुसीमा एउटा खुट्टाले टेकेर अर्को खुट्टाले बजरलाई हान्दै कुर्सी घुमाउँछन्। कार्यक्रम सुरू भएको १ घण्टा ४१ मिनेटमा उनले बजरलाई लात्तिले हानेका छन्। उनी उभिएर बजरमा लात्तले टेकेपछि छेउमै रहेका अर्का कोच राजु लामा हेरेका हेरै हुन्छन्। उनी अक्क न मक्क परेका छन्। 
 
यतिबेला यहीँ दृश्यले उनलाई आफ्ना सिर्जनाको बेलामा भन्दा बढि आलोचित बन्न पुगेका छन्। यो किक हानेको तस्विर यतिबेला सामाजिक सञ्जाल प्रयोगकर्ताले उनको आलोचना गरेका हुन्। त्यसो त यसअघि पनि कोच राजेशपायल राई, मिलन नेवार, अभया सुब्बाले पनि बजारलाई लात्तीले हानेका थिए। अन्तराष्ट्रिय रूपमै पनि कोचहरूले यसो गर्ने गरेका छन्। 

लोकगायन क्षेत्रमा चर्चामा रहेको खेम पहिलो पटक कोचका रुपमा ‘भ्वाइस अफ नेपाल’ सिजन ६ मा पुगेका हुन्। उनी अघिल्ला सिजनका कोच प्रमोद खरेलको ठाउँमा राखिएका हुन्। लोक गीतको कोचका रुपमा पहिलो पटक कोचका रुपमा पुगेका खेमको कोचिङमा भने आलोचना भएको छैन। 

यस सिजनमा उदय सोताङ, राजु लामा, खेम सेन्चुरी र मेलिना राई कोच रहेको ‘द भ्वाइस अफ नेपाल’ का निर्देशक लक्ष्मण पौडेल हुन्। होस्टमा सुशील नेपाल छन्। 

यो रियालिटी शोको सिजन ६ शुक्रबार र शनिबार बेलुका ८ बजे हिमालय टिभीमा प्रसारण हुन थालेको छ। ‘द भ्वाइस अफ नेपाल’ को युट्युबमा ८ः३० बजे स्ट्रिमिङ हुन्छ। यो शो ब्लाइण्ड अडिसनबाट टेलिभिजनबाट प्रसारणमा आएको हो। ब्लाइन्ड अडिसनबाट प्रत्येक कोचले आफ्नो टिममा १६/१६ जना प्रतिभालाई लिने छन्। ६४ प्रतिभा ब्याटल राउन्डमा प्रवेश गर्नेछन्। 

यो सिजनमा पनि ‘भ्वाइस अफ नेपाल’ सिजन ५ बाट प्रयोगमा आएको ब्लक्ड नियमले निरन्तरता पाउने छ। 

माघ ७, २०८१ सोमबार २१:४१:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।