स्ववियु निर्वाचन चैत ५ मा गर्ने सहमति
काठमाडौं : त्रिभुवन विश्वविद्यालय (त्रिवि) स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन आगामी चैत ५ मा गर्ने सहमति भएको छ।
त्रिविका शिक्षाध्यक्ष डा खड्ग केसीको अध्यक्षतामा आज बसेको विद्यार्थी कल्याण परिषद्को बैठकले उक्त निर्णय गरेको परिषद्का सदस्य सचिव पशुपति अधिकारीले जानकारी दिए।
यसअघि त्रिविको शैक्षिक क्यालेन्डरमा स्ववियु निर्वाचन फागुन १५ मा गर्ने तोकिएको थियो। विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशकसमेत रहेका डा केसीले कानुनी जटिलता आउने भएकाले अघिल्लो कार्यकालमा भएको समयमा नै स्ववियु निर्वाचन गर्ने निर्णय गरिएको बताए।
'वर्तमान कार्यसमितिको दुई वर्षको कार्यकाल राखिएको छ। आगामी चैत ५ गते ठीक दुई वर्ष पुग्छ। कानुनी जलिटता नआओस् भनेर अघिल्लो पटक निर्वाचन भएको मितिमै निर्वाचन गर्न त्रिवि कार्यकारी परिषद्लाई सिफारिस गरिएको छ, उनले भने।
यसअघि २०७९ चैत ५ मा स्ववियु निर्वाचन भएको थियो। प्रत्येक दुई/दुई वर्षमा हुने स्ववियु निर्वाचन २०६५ सालदेखि नियमित रुपमा हुन सकेको थिएन।
२०६५ चैत ६ मा भएको स्ववियु निर्वाचन एकैपटक २०७३ चैत १५ मा भएको थियो। त्यसपछि २०७९ चैत ५ मा देशभरि नै केही क्याम्पसबाहेक सम्पन्न भएको थियो। त्यतिबेला नौ वटा आङ्गिक क्याम्पसमा निर्वाचन हुन सकेको थिएन।
स्ववियु निर्वाचन देशभरिका त्रिविका ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा हुनेछ। निर्वाचनका लागि २८ वर्षे उमेर हद र मिश्रित निर्वाचन प्रणालीको व्यवस्था गरिएको छ।
माघ ७, २०८१ सोमबार २०:११:१४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।