कोशीका पूर्वमुख्यमन्त्रीले सदनमा भने 'म पनि दुई-चार मुक्का लगाउने हिसाबमा थिएँ, साथीहरूले रोक्नुभयो'

कोशीका पूर्वमुख्यमन्त्रीले सदनमा भने 'म पनि दुई-चार मुक्का लगाउने हिसाबमा थिएँ, साथीहरूले रोक्नुभयो'

काठमाडौं : कोशी प्रदेशका पूर्वमुख्यमन्त्री उद्धव थापाले आफूमाथि भएको कुटपिट घटना नियोजित नभएको बताएका छन्। 

सोमबारको प्रदेश सभा बैठकमा बोल्दै कांग्रेस संसदीय दल नेतासमेत रहेका थापाले गत शनिबार झापामा आफूमाथि भएको कुटपिट नियाेजित नभएकाे भन्दै यसलाई मुद्दा नबनाउन आग्रह गरे। 

‘यो कुनै नियोजित घटना होइन, कुनै उद्देश्य बोकेर घटना भएको होइन, यसलाई मुद्दा नबनाऊँ’ उनले भने, ‘घरजान हतार थियो, अलिकति अगाडि जाऊँ, चाँडै जाऊँ भनेर अगाडि बढ्न खोज्दै गर्दा मेरो चालकले हर्न बजाए, साइड मागे, मभन्दा अगाडि हिँड्ने गाडीले साइड दिन चाहेन।’

केही बेरपछि अगाडीको गाडी रोकिएको र सरकारले आफूलाई सुरक्षामा उपलब्ध गराएका सुरक्षाकर्मीले ती गाडीका चालकमाथि बुझ्न खोजेको उनले बताए।

‘किन साइड दिनु भएन, पछाडि भीआइपीको गाडी छ, मैले हात देखाएर रोक्नुस् भन्दा पनि रोक्नुभएन, कारण के हो?’ सुरक्षाकर्मीका कुरा उद्धृत गर्दै थापाले भने, ‘भित्रबाट यस्तो जबाफ आयो- को हो भीआइपी, किन साइड दिने? आगलागी भइरहेकाले निभाउन हिँडेको। मैले सोधें- भाइ भीआइपीलाई साइड नदिए पनि ठिक छ, तर सडकमा भीआइपी मात्र होइन बिरामीलगायत अरू पनि हिँड्छन्, साइड पनि दिनुपर्ने हुन्छ।’ 

त्यही बेला सुरक्षाकर्मीले थप जिज्ञासा राख्न खोज्दा गाडीका चालक अघि बढेको र उनीहरूले साइड किन नदिएको भनेर राम्ररी सोध्दा पनि भीआइपीलाई किन साइड चाहिने भन्दै जवाफ आएको थापाले बताए।

‘म पनि दुई चार मुक्का लगाउने हिसाबमा थिएँ तर साथीहरूले रोक्नुभयो,’ उनले भने, ‘त्यसबीचमा प्रहरी आइसकेको थियो। उसलाई पक्राउ गरेर लगेको छ।’

उनले आफूमाथि योजनाबद्ध घटना नभएका कारण उजुरी पनि नदिएको बताए। 

सुरक्षा हिसाबले प्रदेशमा थ्रेटको अवस्थामा रहेको भन्दै उनले सुरक्षाको विषयमा प्रदेश संवेदनशील बन्नुपर्ने बताए।

माघ ७, २०८१ सोमबार १९:१०:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।