रास्वपा सह-महामन्त्री विपिनको नाममा सुप्रिमको एक करोड ५६ लाख ऋण देखिदा पनि प्रतिवादी भएनन्, श्रीमतीलाई नि उन्मुक्ति
बुटवल : बुटवलको सुप्रिम सहकारीबाट विपिन आचार्यको नाममा १२ प्रतिशत ब्याजमा एक करोड ५६ लाख ऋण गएको सहकारीको लेखा परीक्षण प्रतिवेदनमा उल्लेख छ। उनी गोरखा मिडिया नेटवर्क प्रालिमा क्रियटिभ डाइरेक्टरका रूपमा संलग्न थिए।
राष्ट्रिय स्वतन्त्र पार्टीका सह महामन्त्री रहेका उनीसँग सुप्रिम सहकारी ठगीबारे प्रहरीले बयान कागजसम्म गराएको देखिन्छ। अभियोग पत्रमा समेटिएको लेेखापरिक्षण प्रतिवेदनमा उनको नाममा सुप्रिमबाट जारी भएको एक करोड ५६ लाख ऋणको ब्यहोरा उल्लेख छ। तर अभियोग पत्रमा सो ऋणबारे थप केही उल्लेख छैन। न त विपिनसँग गरिएको घटना कागजको विवरणै समेटिएको छ।
अभियोग पत्रमा उल्लेख गरिएको विवरण अनुसार उनीसँग प्रहरीले २०८१ पुस ४ मा घटना विवरण कागज गराएको भने देखिन्छ।
अर्को विपिन जोडिएको कम्पनी नो बडी प्रडक्सन प्रालि। सहकारी ठगीको अनुसन्धानका लागि बनेको संसदीय छानबिन समितिले विपिनसँग बयान लिँदा उनी गोर्खा मिडियाको क्रियटिभ डाइरेक्टरसँगै नोबडी प्रडक्सनको सञ्चालकको हैसियत बयान लिएको देखिन्छ।
तर सुप्रिम सहकारीको ठगी अनुसन्धानमा कम्पनीको सबै एकल स्वामित्व र दायित्व सुरक्षा अधिकारीले लिएकी छिन्। अधिकारी विपिनको श्रीमती हुन्।
विपिन गोर्खा मिडिया प्रालिको क्रियटिभ डाइरेक्टर भएर त्यहाँ प्रसारण हुने कार्यक्रमहरू भने आफ्नै श्रीमती प्रमुख रहेको नोबडी प्रडक्सनलाई जिम्मा दिएका थिए।
अनुसन्धानमा गोर्खा मिडियाबाट नोबडी प्रडक्सनको नाममा २०७७/०७८ मा पाँच करोड ३५ लाख पेस्की रकम गएको र त्यसमध्ये अझै ४ करोड २१ लाख ९३ हजार फर्छ्यौट हुन बाँकी रहेको देखिन्छ। सबै रकमहरू रवि लामिछानेको हस्ताक्षर रहेको चेकबाट भुक्तानी भएको देखिन्छ।
प्रारम्भमा कार्यक्रम उत्पादनमा सक्रिय रहेका विपिन रवि गोर्खा मिडियाको ग्यालेक्सीमा गएसँगै उतै गएका थिए। जब रविले ग्यालेक्सी टिभी छाडेर राजनीतिमा आए उनी पनि राजनीतिमा संलग्न भए। अहिले उनी पार्टी सह-महामन्त्रीको हैसियतमा छन्।
गोर्खा मिडियाबाट गएको रकममध्ये ७५ लाख सुप्रिम सहकारीबाट गएको थियो। त्यसैको आधारमा सुरक्षा अनुसन्धानको दायरामा तानिइन्। प्रहरीले अन्य १२ कम्पनीलाई प्रतिवादी बनाउन बुझाएको प्रतिवेदनमा नोबडी प्रडक्सनको नाम पनि छ। अधिकारीले बयानका लागि पक्राउ परेपछि सहकारीबाट आएको ७५ लाखको गुड फर पेमेन्ट चेक बुझाएको देखिन्छ।
आइतबार अभियोग पत्र दर्ता हुँदा अधिकारीविरुद्ध सहकारी ठगी र सङ्गठित अपराधमा मुद्दा नचल्ने तर सम्पत्ति शुद्धीकरणको अभियोगमा भने अनुसन्धान हुने उल्लेख छ।
विपिनको नाममा सहकारीबाट ऋण प्रवाह भएको र नोबडीमा सहकारीबाट रकम गएको प्रमाण अभियोग पत्रमै हुँदा पनि किन यी दुवै मुद्दाको दायरामा आएनन् भन्ने अभियोग पत्रले खुलाउँदैन।
‘सबै देवानी तथा फौजदारी दायित्व मेरो हो’
अभियोग पत्रमा समेटिएको सुरक्षा अधिकारीको बयानमा उनले आफू नोबडीको संस्थापक र एकल स्वामित्वको कम्पनी भएकाले कम्पनीको तर्फबाट सबै देवानी तथा फौजदारी दायित्व आफ्नो भएको उल्लेख गरेकी छिन्।
अधिकारीको बयान अनुसार नोबडी प्रालि टेलिभिजन, सामाजिक सञ्जालको लागी कार्यक्रम उत्पादन गर्ने हो। कार्यक्रम उत्पादन गरेर विभिन्न टिभी च्यानल र नोबडी प्रोडक्सनको आधिकारिक सामाजिक सञ्जाल डोको युट्युबबाट प्रसारण हुने गरेको थियो।
कम्पनीले सारेगमप लिटिल च्याम्पस नेपाल, क्राईम पेट्रोल नेपाल, को बन्छ करोडपति, मझेरी लकडाउन पोयट्री सो, लकडाउन रेन्डभु, लिडर, कामका कुरा थिए।
ती कार्यक्रमहरू न्युज२४, एपिवान र ग्यालेक्सीमा प्रसारण हुने गरेको थियो। ग्यालेक्सीका लागि आवश्यक कार्यक्रमहरू निर्माण गर्न अनुरोध आएपछि कार्यक्रमको लागी चाहिने अग्रिम भुक्तानी बापत पैसा लिएको उनको दाबी छ।
अधिकारीको बयान अनुसार ग्यालेक्सीमा सारेगमप लिटिल च्याम्पस नेपाल, क्राईम पेट्रोल नेपाल, को बन्छ करोडपति कार्यक्रम निर्माण गर्ने जिम्मा उनको कम्पनीले पाएको थियो।
यी कार्यक्रममध्ये ग्यालेक्सीमा केही समय भारतीय कार्यक्रम क्राइम पेट्रोलको नेपाली फ्रेन्चाइज क्राइम पेट्रोल नेपाल प्रसारण भयो। तर यो लामो जान सकेन। कार्यक्रम दीपकराज गिरीले सञ्चालन गर्थे। राजेश हमाल सञ्चालक भएर प्रसारण गरिने भनिएको को बन्छ करोडपति प्रसारणै भएन।
उनले सारेगमप लिटिल च्याम्पस नेपाल, क्राईम पेट्रोल नेपाल ग्यालेक्सीलाई दिएको तर पैसा नदिएकाले को बन्छ करोडपतिको कार्यक्रम सुटिङको विन्दुमा पुगेर रोकिएको दाबी गरेकी छिन्। तर सो कार्यक्रममा प्रायोजनका लागि ग्यालेक्सी टिभीको माउ संस्था गोर्खा मिडियाले हिमालयन बैङ्कसँग पैसा लिइसकेको थियो।
मुख्य प्रायोजक बनाएर पैसा लिए पनि कार्यक्रम नै उत्पादन नगरेको भन्दै पैसा फिर्ता माग्दै हिमालयन बैंक अदालत गइसकेको छ। अदालतमा दायर फिराद पत्रमा तत्कालीन सिभिल बैंक र गोर्खा मिडियाबीच २०७८ माघ २८ मा को बन्छ करोडपति कार्यक्रमको मुख्य प्रायोजक सिभिल बैंक रहने र त्यसबापत बैंकले १ करोड २४ लाख ३० हजार रुपैयाँ भुक्तानी गर्ने सम्झौता भएको देखिन्छ।
सो सम्झौतामा गोर्खा मिडियाका तर्फबाट विपिन आचार्यले हस्ताक्षर गरेका थिए। कार्यक्रम उत्पादनको जिम्मा उनको श्रीमतीको कम्पनीले लिएको थियो।
टेलिभिजनले कार्यक्रम प्रसारण गर्ने भनेर पेस्की बापत ६२ लाख १५ हजार रुपैयाँ लिए पनि कार्यक्रम नबनाएको भन्दै सो रकमको ब्याजसहित फिर्ताको माग गर्दै बैंक अदालत गएको हो। मुद्दा विचाराधीन छ।
अधिकारीको बयान अनुसार गितेन्द्रबाबु राई र रवि लामिछानेले ५ वर्षको लागी करार सम्झौता गरेका थिए। सारेगमप लिटिल च्याम्पस नेपालको थप ७ एपिसोड बनाए बापत पाउनु पर्ने थप रकम नपाएको दाबी गरेकी छिन्।
कार्यक्रमहरू पाँच वर्षसम्म उत्पादन गर्ने सम्झौता बमोजिम नो बडी प्रोडक्सनले ६ करोड ७० लाख १३ हजारको बिल पठाएको अधिकारीको दाबी छ।
गोर्खा मिडियाबाट नोबडी प्रडक्सनको एनआइसी एसिया बैङ्कको खातामा जम्मा भएको रकममध्ये ७५ लाख गोर्खा मिडिया नेटवर्क प्रालिले आफ्नो खाताबाट नहाली सुप्रिम बचत तथा ऋण सहकारी संस्थाबाट हालेको भर्खर थाहा पाएको उनले बयानमा दाबी गरेकी छिन्।
बैंक स्टेटमेन्टमा हेर्दा चेक नम्बर र बैङ्कको नाम मात्र उल्लेख भएको भन्दै उनले सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको खाताबाट नो बडी प्रोडक्सनको खातामा पठाएको ७५ लाखको नैतिक जिम्मेवारी लिँदै प्रालिको तर्फबाट उनले कमल कुमार शर्मा आचार्यको नामको नबिल बैंकमा रहेको खाताबाट सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको नाममा ७५ लाखको गुड फर पेमेन्टको चेक दिएको बताएकी छिन्।
बयानका लागि अधिकारी पुस ११ मा आफैँ प्रहरी कार्यालयमा उपस्थित भएको देखिन्छ। उनी हिरासतमा बसेर १२ गते बयान र गुड फर पेमेन्टको चेकको प्रतिलिपि बुझाएपछि त्यही दिन उनी हाजिर जमानीमा रिहा भएकी थिइन्।
माघ ७, २०८१ सोमबार १९:०६:५९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।