छिमेकी देशसँग जिब्रो लट्पट्याएर कूटनीतिक संवाद गर्नुहुँदैन : प्रधानमन्त्री
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल न्यायोचित र अन्तराष्ट्रिय हितसहितको राष्ट्रिय हितका पक्षमा रहेको बताएका छन्।
सोमबार एमालेको परराष्ट्र मामिला विभागद्वारा आयोजित ‘नेपालको परराष्ट्र नीतिबारे सांसद संवाद’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले साना र ठूला राष्ट्रको हित, समान हित हो भन्ने मान्यताका साथ नेपालको सार्वभौमिकता, स्वाभिमान र भौगोलिक अखण्डताका पक्षमा नेपाल सदैव कटिबद्ध रहने बताए।
‘हामी पारस्परिक लाभ र सहअस्तित्वमा विश्वास गर्छाैँ। हाम्रा कोही शत्रु छैनन्, सबै हाम्रा मित्र हुन् भन्ने भावका साथ हामीले वैदेशिक सम्बन्ध कायम गर्छाै’ उनले भने, ‘भूराजनीतिलाई देखाएर आफ्नो कायरतालाई लुकाउने काम हामी गर्दैनौं।’
राष्ट्रिय हितको रक्षा गर्न भूराजनीतिक परिस्थितिलाई सन्तुलितरुपमा सामना गर्ने भन्दै उनले अगाडि भने, ‘छिमेकी देशसँग उत्ताउलो नभईकन खुलस्त र मित्रतापूर्णरुपमा आफ्ना जायज कुरा राख्नुपर्छ। जिब्रो लट्पट्याएर नबुझिने गरी कूटनीतिक संवाद गर्नुपर्छ भन्ने छैन। बुझिने गरी संवाद गर्नुपर्छ।’
उनले राष्ट्रिय स्वार्थलाई तिलाञ्जली दिएर सत्ता स्वार्थका लागि घुँडा टेक्नु राष्ट्रिय हित नभएको र सानो देश हौं भन्ने हिनताभाव पाल्नु पर्ने आवश्यकता नरहेको बताए।
प्रधानमन्त्री ओलीले राष्ट्रिय हितभन्दा सत्ता स्वार्थ र स-साना कुराहरुलाई महत्व दिने प्रवृत्ति गलत भएको उल्लेख गर्दै नेपालले आर्थिक, सांस्कृतिक र कूटनीतिक हितलाई ध्यान दिएर विश्वसनीय र जिम्मेवाररुपमा आफूलाई प्रस्तुत गर्ने बताए।
माघ ७, २०८१ सोमबार १७:३९:३३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।