नेपालले स्कटल्यान्डलाई दियो ७४ रनको लक्ष्य

नेपालले स्कटल्यान्डलाई दियो ७४ रनको लक्ष्य

काठमाडौं : आईसीसी यु१९ महिला टी२० विश्वकपको आफ्नो दोस्रो खेलमा नेपालले स्कटल्यान्डलाई ७४ रनको लक्ष्य दिएको छ।

मलेसियाको युकेएम ओभलमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपाल १८.५ ओभरमा अलआउट हुँदै ७३ रनमा समेटियो।

नेपालका लागि कप्तान पूजा महताले सर्वाधिक रन २७ बनाइन्। ४३ बलको सामना गरेकी उनले तीन छक्का हिर्काइन्।

सावित्री धामीले १० रनको योगदान दिँदा अन्य खेलाडी दोहोरो अंकमा रन बनाउन सकेनन्।

स्कटल्यान्डका लागि मइसी म्याकेरियाले पाँच विकेट लिँदा नयमा शेख र एमी बाल्डीले समान दुई– दुई र क्रिष्टी म्याकोलले एक विकेट लिइन्।

स्कटल्यान्डले अहिले जवाफी ब्याटिङ गरिरहेको छ।

नेपाल पहिलो खेलमा बंगलादेशसँग पाँच विकेटले पराजित हुँदा स्कटल्यान्ड अष्ट्रेलियासँग नौ विकेटले पराजित भएको थियो।

आजको खेलको विजेताले सुपर सिक्समा स्थान बनाउनेछ। त्यसैले पनि दुवै टिमका लागि आजको खेल गर वा मरको अवस्था छ।

जारी प्रतियोगिताको समूह ‘डी’मा अष्ट्रेलिया चार अंकसहित शीर्ष स्थानमा रहँदा बंगलादेश दोस्रो, नेपाल तेस्रो र स्कटल्यान्ड चौथो स्थानमा छ।

माघ ७, २०८१ सोमबार १३:५८:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।