इलामको गाउँमा इँटा उद्योग, उद्यमी प्रमोद भन्छन्- ‘कोरोनामा टिकियो, अब त डरै छैन’
इलाम : सूर्योदय नगरपालिका-१० फिक्कलका प्रमोद सापकोटाले नजिकैको शान्तिगोलाईमा इँटा उद्योग छ।
उद्योग स्थापना भएको छ वर्ष पूरा भयो। २२ वर्षको उमेरमा ‘डिप्लोमा इन इलेक्ट्रिकल इञ्जिनियर’ उत्तीर्ण गरेर गाउँ फर्किएका उनले अहिले यदि उद्योगलाई निरन्तरता दिइरहेका छन्।
‘पन्ध्र लाख लगानीमा सुरू गरेको उद्योगमा हाल ४५ लाख लगानी पुगेको छ,’ उनले भने, ‘अहिलेसम्म साना-ठूला गरी चार सय ५० भवन निर्माणमा तीन लाख पचास हजारभन्दा बढी इँटा प्रयोग भइसकेको छ।’
सात जनाले रोजगारी पाएको उद्योगबाट अहिले महिनामा सात हजार इँटा उत्पादन हुन्छ। एक हजार मौज्दात राखेर सबै बिक्री गर्ने गरिएको सापकोटाले बताए।
‘नगरपालिकाले नै इँटाको प्रतिगोटा मूल्य ५२ रुपैयाँ निर्धारण गरिदिएको छ,’ उनले भने, ‘कच्चापदार्थ महँगो छ। सबै खर्च कटाएर १७ प्रतिशत नाफा हुन्छ। महिनामा त्यस्तै एक लाख जति बचत छ।’
ढुङ्गाको धुलो, धोएको खस्रो बालुवा, ५३ ग्रेटको ओपिसी सिमेन्ट, सुपर प्लास्टिक साइजरलगायतका कच्चापदार्थ प्रशोधन गरेर ईको इँटा तयार गरिने प्रमोदले बताए।
उनले भने, ‘यी सामग्री नवलपरासीको दाउन्ने, झापाको विर्तामोड र सुपर प्लास्टिक साईजर चाहिँ उडिसाबाट ल्याउने गरिएको छ।’
उद्योगको उत्पादनले इँटाको माग धान्न सकेको छैन। सूर्योदय नगरपालिका क्षेत्रमा नै धेरै माघ हुने गरेकाले जिल्लाका अन्य पालिकातिर माघ पूरा गर्न नसकिएको स्वस्तिका सापकोटा(भट्टराई)ले बताइन्। ईको इँटा भूकम्प प्रतिरोधी र वातावरणमैत्री हुने भएकाले यसको माग बढिरहेको उनको भनाइ छ।
उनले भनिन्, ‘पालिकाले निर्माण गर्ने भवनमा हरित निर्माण सामग्री प्रयोग गर्ने भनिएको छ। त्यसमा हाम्रो उत्पादन प्रयोग गर्ने गरि छलफल चलेको छ । त्यो सम्झौता भएमा उद्योगले उत्पादन अनिवार्य वृद्धि गर्नुपर्छ।’
सापकोटा दम्पतीलाई गाउँ छोडेर विदेशिन मन छैन। नेपाल र नेपालीकै लागि केही गर्न मन छ।
प्रमोदले भने, ‘आजभन्दा ६ वर्षअघि १५ लाख रुपैयाँ लगाएर उद्योग खोल्ने मेरो एउटा सहास नै थियो। त्यो बेला अमेरिका अस्ट्रेलिया वा कोरियातिरै गएको भए पनि अहिलेसम्म एक-दुई करोड कमाइन्थ्यो होला। तर, गाउँको स्वच्छ हावा, परिवार, समाज र नेपाली माटोको सुगन्ध त्यो भन्दा महंगो लाग्यो। हामी यहीँ खुसी छौँ।’
कोरोना कहरका बेला निजी तथा सरकारी निर्माण प्रभावित भएसँगै इँटाको माग घट्दा व्यवसायी उद्योग सञ्चालन गर्नेतर्फ निरुत्साहित बनेका थिए। प्रमोदसँग पनि कोभिड-१९ का बेला उद्योग बन्द गर्नुपरेको तीतो स्मरण छ।
उनले भने, ‘महामारीमा उद्योग ठप्प भयो। भर्खर सुरू भएको उद्योग बन्द गर्नुपर्दा निराशा आएको थियो। पुनः स्थिति सुधार भयो। अब त डर छैन।’
माघ ७, २०८१ सोमबार १२:२६:३२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।