युद्धविराम सम्झौता अनुसार इजरायलले रिहा गर्यो ९० प्यालेस्टानी बन्दी
एजेन्सी : गाजामा युद्धविराम र प्यालेस्टिनी कैदीहरूको बदलामा इजरायली बन्धकहरूलाई रिहा गर्ने सम्झौता लागू भएको छ।
यसैबीच इजरायलले सम्झौताको पहिलो चरणअन्तर्गत ९० प्यालेस्टिनी बन्दीलाई रिहा गरेको छ। हमासले यसको पुष्टि गर्दै यी ९० जनामध्ये ६९ जना महिला र २१ जना किशोर बालबालिका रहेको बताएको छ।
रोयटर्स समाचार एजेन्सीका अनुसार यीमध्ये अधिकांशलाई हालै पक्राउ गरिएको थियो। उनीहरूलाई कुनै पनि मुद्दामा कारबाही वा सजाय दिइएको थिएन।
युद्धविराम लागू भएको केही घण्टापछि हमासले तीन इजरायली बन्धकहरूलाई पनि रिहा गरेको छ।
सम्झौताको पहिलो चरणमा इजरायलले एक हजार नौ सय प्यालेस्टिनी बन्दीहरूलाई रिहा गर्नुपर्नेछ। बदलामा हमासले सोही समयमा ३३ इजरायली बन्धकहरूलाई रिहा गर्नेछ।
इजरायल र हमासबीचको यो युद्धविराम सम्झौता तीन चरणमा लागू हुने भएको छ। पहिलो चरणमा इजरायली जेलमा रहेका प्यालेस्टिनी बन्दीहरूको सट्टामा हमासद्वारा बन्धकहरूलाई रिहा गरिने छ।
त्यसपछि इजरायली सेना विस्तारै गाजाबाट हट्नेछ र अन्तिम चरणमा गाजाको पुनर्निर्माणको काम हुनेछ।
माघ ७, २०८१ सोमबार ०९:१३:०१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।