सुप्रिम सहकारी ठगीमा रवि विरुद्धका प्रमाण : श्रीमतीलाई भुक्तानी, भौचर, चेक र कम्पनी रजिष्टारमा बुझाएको झुटो विवरण
बुटवल : गोर्खा मिडिया प्रालिको नाममा पाँच सहकारीमध्ये तेस्रो सहकारी ठगीको अभियोग पत्र दर्ता हुँदा रवि लामिछाने ठगीमा संलग्न रहेको प्रमाणमा भौचर, रविको हस्ताक्षरमा सहकारीमा गरेको भुक्तानीको चेक र रविले गोर्खा मिडिया छाडिसकेपछि पनि उनको हस्ताक्षरमा भुक्तानी भएका चेकको विवरणलाई प्रमाणको रूपमा लिएको खुलेको छ।
आइतबार जिल्ला सरकारी वकिलको कार्यालयले जिल्ला अदालत रुपन्देहीमा दायर गरेको अभियोग पत्रमा सहकारीबाट रविको खातामा रकम जम्मा भएको भौचर, रविले सहकारीलाई भुक्तानी दिन काटेको चेक, रविले आफूसहितलाई रकम भुक्तानी लिन गोर्खा मिडियाबाट काटेको चेक र सेयर लिन कम्पनी रजिस्टार कार्यालयमा बुझाएको विवरणलाई प्रमुख आधार मानेको देखिन्छ।
यसै आधारमा अभियोग पत्रमा रविले जीवी राईलगायतकाहरुसँग मिलेर सङ्गठित रूपमा, पूर्व योजना अनुसार सुप्रिम सहकारीको बचत रकम अपचलन गरेको भन्दै उनी विरुद्ध सङ्गठित अपराधको अभियोग समेत लगाएको छ।
रविले ग्यालेक्सी टेलिभिजन सुरु भएपछि आफू संलग्न रहेको दाबी गर्दै आएका छन्। तर सुप्रिम सहकारीको ठगीको अनुसन्धानकोक्रममा उनी गोर्खा मिडियाको सञ्चालक वा कर्मचारी कुनै पनि जिम्मेवारीमै नभएको समयमा गोर्खा मिडियाको सञ्चालक समितिको बैठकमा सहभागी भएर प्रालिको बैंक खाता चल्ने तीन जनामध्ये उनको नाम समेत रहेको प्रमाण समेत अभियोग पत्रमा समेटिएको छ।
गोर्खा मिडिया नेटवर्क प्रालिको पहिलो सञ्चालक समितिको बैठकमा रवि लामिछाने आमन्त्रित सदस्यको रूपमा उपस्थित भएका थिए।
समितिको निर्णयमा ग्लोबल आइएमइ बैंकमा खाता सञ्चालन गर्दा जीवी, छवि वा रविमध्ये एकको हस्ताक्षर चल्ने निर्णय गरेको देखिन्छ।
‘रवि लामिछाने कम्पनी सञ्चालनको कुनै आधिकारिक व्यक्ति नभए पनि गैर सेयर सदस्य र सञ्चालकका रूपमा आर्थिक कारोबारमा संलग्न’ अभियोग पत्रमा उल्लेख छ।
गोर्खा मिडियामा रविको नाममा एक करोड ८० लाखको सेयर कायम रहेको देखिएको र उनले कम्पनी छाड्दा सो सेयर जीवीको नाममा हस्तान्तरण हुँदा उनले सो बापत रकम लिएको देखिने अभियोग पत्रमा उल्लेख छ।
‘रविको नाममा सहकारीबाट दुई करोड ऋण स्वीकृत भएर ऋण सेवा शुल्क बापत चार लाख कटाएर एक करोड ९६ लाख गोर्खा मिडियाको ग्लोबल आइएमइ बैंकमा जम्मा भएको’ अभियोग पत्रमा उल्लेख छ। उनले सुप्रिमबाट लिएको ऋणको प्रयोजनमा हाउजिङ लोन उल्लेख छ।
अभियोग पत्रमा रविले जीवी राइको समूहसँग मिलेर आफ्नै निर्देशनमा सहकारीको बचत हिनामिना गरी कम्पनी खडा गर्ने काममा कम्पनीको प्रबन्ध निर्देशकको रूपमा संलग्न रहेको’ उल्लेख छ।
अभियोग पत्रको विवरण अनुसार २०७७ भदौ १४ मा गोर्खा मिडिया नेटवर्क प्रालि दर्ता भएको देखिन्छ। २०७७ कात्तिक २ मा पहिलो पटक सञ्चालक समितिको बैठक बस्दा रवि आमन्त्रित सदस्यको रूपमा सहभागी भएका थिए। त्यही बैठकले गोर्खा मिडियाको खाता जीवी, रवि वा छविमध्ये एकको हस्ताक्षरमा सञ्चालन हुने निर्णय गरेको थियो।
पुँजी बढाएपछि २०७७ चैत १८ मा जीवीले ६ करोड, छविले ४ करोड २० लाख र रविको नाममा एक करोड ८० लाख बराबरको सेयर कायम गरेर रकम चुक्ता गरेको निर्णय अनुसन्धानमा फेला परेको छ।
रवि राजनीतिमा जाने भएसँगै उनले दिएको राजीनामा २०७९ असार १ मा स्वीकृत भएको र उनको एक करोड ८० लाख रुपैयाँको सेयर जीवीले किन्ने निर्णय भएको थियो।
असार २ मा सेयर बापतको रकम बुझिलिएको भनेर कम्पनी रजिस्टार कार्यालयमा रविले हस्ताक्षर र औँठाछाप लगाएको प्रमाणलाई समेत अभियोग पत्रमा राखिएको छ।
ग्यालेक्सी टिभी खोल्नु अगाडि नै गोर्खा मिडियाको नाममा सिद्धार्थ बैंकमा रहेको खातामा सुप्रिमबाट १, सुर्यदर्शनबाट २० लाख र सहारा सहकारी चितवनबाट एक करोड रकम जम्मा गरेको देखिएकाले ग्यालेक्सी टेलिभिजन सुरु हुनु अगाडि नै सहकारीको पैसाबाट टेलिभिजन चलाउने योजना बनेको अभियोग पत्रमा दाबी गरिएको छ।
रविले सहकारीको रकम श्रीमती निकितालाई भुक्तानी गर्न लगाएर हिनामिना गरेकाले समेत उनी सहकारी ठगीमा संलग्न रहेको अभियोग पत्रमा दाबी गरिएको छ।
अभियोग पत्रमा निकिताको नाममा एक पटक ३५ लाख र अर्को पटक ९ लाख ९९ हजार भुक्तानी भएको विवरण समेटिएको छ।
गोर्खा मिडियामा विभिन्न सहकारीबाट ६५ करोड ५४ लाख गएको र त्यसमा सुप्रिमबाट १० करोड ९९ लाख गएको उल्लेख छ।
अर्को प्रमाणमा रविको हस्ताक्षर रहेको गोर्खाको चेकबाट सुप्रिमको नाममा ४० लाख ९२ हजार रकम जम्मा भएकोलाई लिइएको देखिन्छ।
कम्पनीमा झुटो प्रमाण
उनी सहकारी ठगीमा संलग्न रहनुमा आपराधिक मनसाय रहेको सरकारी वकिलले तर्क लिएका छन्। त्यसका लागि आफ्नो बैंक खातामा पैसा जम्मा नभए पनि खातामा रकम जम्मा भएको भनेर कम्पनी रजिस्टारको कार्यालयमा झुटो प्रमाण पेस गरेकोलाई प्रमाणको रूपमा पेस गरिएको छ।
‘कम्पनी हस्तान्तरणका लागि सरकारी निकायमा झुटो प्रमाण पेस गरेकाले आपराधिक मनसाय देखिएको र
कम्पनीबाट अलग भएपछि पनि विभिन्न मितिको चेकबाट ७१ लाख भुक्तानी गरेकोलाई सहकारी ठगीमा रवि योजनाबद्ध रूपमा संलग्न रहेको दाबी पुष्टि हुने आधारमा रूपमा पेस गरिएको छ।
रविले गोर्खा मिडिया छाडेपछि पनि उनको हस्ताक्षर रहेको चेकहरूबाट ७१ लाख भुक्तानी भएकोमा उनकै नाममा समेत नौ लाख ८५ हजार भुक्तानी भएको चेकै अभियोग पत्रमा राखिएको छ।
माघ ६, २०८१ आइतबार २२:५३:१४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।