एक साताभित्र स्वास्थ्य बिमा सुधारको कार्ययोजना बनाउन प्रधानमन्त्री ओलीको निर्देशन, भुक्तानी भएको छैन ११ अर्ब
काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य बिमा सुधार सुझाव कार्यदलको प्रतिवेदनका आधारमा तत्काल सुधारको कार्ययोजना बनाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई निर्देशन दिएका छन्।
कार्यदलको प्रतिवेदन र सुझावबारे आइतबार प्रधानमन्त्री निवासमा ब्रिफिङ लिएपछि ओलीले नागरिक बिरामी भइहालेमा खर्च नभएर उपचार गर्न नपाउने अवस्था हुन नहुने बताए। उनले कार्यदलबाट स्वास्थ्य बिमा कार्यक्रम व्यावहारिक हुनेगरी एक साताभित्र कार्ययोजना ल्याउन मन्त्रालयलाई निर्देशन दिएका थिए।
ब्रिफिङमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेल, कार्यदलका संयोजक डा शम्भु आचार्य, सदस्यहरू डा भगवान् कोइराला, डा रघुराम काफ्ले र सदस्यसचिव डा सरोज शर्माले प्रधानमन्त्री ओलीलाई स्वास्थ्य बिमा कार्यक्रमको नीतिगत, कानुनी र संरचनागत परिवर्तन गर्नुपर्ने देखिएकोबारे ब्रिफिङ गरेका थिए।
बीमा कार्यक्रमअन्तर्गत करिब ११ अर्ब भुक्तानी गर्न बाँकी छ। कार्यक्रममा कूल जनसङ्ख्याको २७ प्रतिशत नागरिक आबद्ध भएको र आबद्ध भएकामध्ये ४८ प्रतिशतले सेवा लिएको स्थितिमा सबै नागरिकलाई कार्यक्रममा अनिवार्य सहभागी गराउने र निरपेक्ष गरिबीको रेखामुनि रहेका सबै नागरिकको स्वास्थ्य सेवा निःशुल्क गर्नुपर्ने ढाँचामा जान कार्यदलले सुझाव दिएको छ।
माघ ६, २०८१ आइतबार १६:३७:४५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।