रवि विरुद्ध सहकारी ठगीमा तेस्रो मुद्दा, चार करोड बिगो मागदावी

रवि विरुद्ध सहकारी ठगीमा तेस्रो मुद्दा, चार करोड बिगो मागदावी

बुटवल : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित ४२ जनालाई प्रतिवादी बनाउँदै बुटवलस्थित सुप्रिम सहकारीको रकम ठगी र सङ्गठित अपराधमा रुपन्देहीमा मुद्दा दर्ता भएको छ।

आइतबार जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीले मुलुकी फौजदारी अपराध संहिताको ठगी कसुर र सङ्गठित अपराध गरेको कसुरमा १४ जना थपेर ४२ जनालाई प्रतिवादी बनाएर जिल्ला अदालत रुपन्देहीमा अभियोग पत्र दायर गरेको हो।

अभियोग पत्रमा लामिछानेविरुद्ध व्यक्तिगत २ करोड र सामूहिक २ करोड सहित चार करोड भन्दा बढी बिगो माग दाबी गरिएको छ।

रविको नाममा २ करोड रुपैयाँ ऋण गएको भौचरसहित गोर्खा मिडिया प्रालिको नाममा अवैध रूपमा सहकारीबाट गएको रकम समेत जोडेर चार करोड बिगो कायम भएको देखिन्छ।

सुप्रिम सहकारीको रकम अपचलनबारे दायर भएको यो  दोस्रो पूरक अभियोग पत्र हो। यस अगाडि वैशाख ३ मा पहिलो पटक अदालतमा अभियोग पत्र गएको थियो। पहिलो अभियोग पत्रमा १ हजार ८ सय ३१ बचतकर्ताको ८६ करोड १८ लाख २३ हजार ७ सय ५४ रुपैयाँ हिनामिना भएको दाबीसहित २८ जनालाई प्रतिवादी बनाइएको थियो। आइतबार दायर गरिएको पूरक अभियोग पत्रमा थप १४ जनालाई प्रतिवादी बनाइएको छ।

पोखराको सुर्यदर्शन र काठमाडौँको स्वर्णिम सहकारीको बचत रकम अपचलनमा रवि धरौटीमा रिहा भएका छन्। कास्कीमा ६५ लाख र काठमाडौँमा ६० लाख धरौटी राखेर उनी थुनामुक्त भएका थिए।

बुटवलपछि पनि चितवन र पर्सा गरेर अझैँ दुई जिल्लामा रवि सहितमाथि सहकारी ठगीमा अनुसन्धान भइरहेको छ।

माघ ६, २०८१ आइतबार १४:४६:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।