रविसँगै पोखरामा छुटेर १० दिनदेखि ‘फरार’ पूर्वडिआइजी जोशी अदालतमा उपस्थित भए
काठमाडौं : पोखराको सूर्यदर्शन सहकारी बचत तथा ऋण सहकारीमा सर्वसाधारणले जम्मा गरेको बचत रकम अपचलन गरेको मुद्दामा कास्की जिल्ला अदालतले धरौटीमा छाड्न आदेश दिएका छविलाल जोशी अदालतमा उपस्थित भएका छन्।
गत पुस २५ मा कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासले सहकारीको बचत रकम अपचलनमा ८८ लाख धरौटीमा छोड्न आदेश दिएका उनी त्यसपछि काठमाडौं जिल्ला अदालतमा उपस्थित हुनुपर्नेमा आज बल्ल उपस्थित भए।
कास्की प्रहरीले शुक्रबार (पुस २६) काठमाडौं जिल्ला अदालतमा आफैं हाजिर हुने शर्तमा रास्वपाका कार्यवाहक सभापति डीपी अर्यालको जिम्मा लगाएर पठाएको थियो।
उनीसहितका व्यक्तिविरुद्ध संगठित रुपमा ठगीको अभियोगमा मुद्दा दायर भएको छ। स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा रास्वपा सभापति रवि लामिछाने र नेपाल प्रहरीका पूर्वडिआइजीसमेत रहेका छविलाल जोशीसहित ३९ जनालाई प्रतिवादी बनाउँदै मुद्दा दायर भएको थियो। यस सहकारीले ६९० बचतकर्ताको एक अर्ब १९ करोड ३० लाख ९० हजार ४९३ रुपैयाँ हिनामिना गरेको आरोप छ।
त्यसअघि रवि लामिछाने भने काठमाडौं जिल्ला अदालतमा ६० लाख धरौटी बुझाएर रिहा भइसकेका छन्।
माघ ६, २०८१ आइतबार ११:४०:५७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।